१५ चैत्र २०८०, बिहीबार

यसअघिको सरकारले ल्याएको बजेट परिमार्जन हुन्छ : मुख्यमन्त्री केसी

Kul Prasad KC

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले यसअघिको सरकारले ल्याएको बजेट परिमार्जन गर्ने बताएका छन् ।

शनिबार बुटवलमा उद्योग व्यापार संघ देवदहको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले यसअघिको सरकारले ल्याएको बजेट परिमार्जन सहित गठबन्धनको सरकारले नयाँ बजेटमा जनताको मुहारमा खुसी ल्याउने गरी बजेट ल्याउन लागेको बताएका हुन् ।

एक वर्षभित्रमा जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी प्रदेश सरकारले काम थालेको उनको भनाइ छ । उनले अहिले बनेको गठबन्धनको सरकारले राजनीतिक रंगको आधारमा नभई आम नागरिकको चाहना र आवश्यकताको आधारमा विकास निर्माणको कामलाई प्राथमिकता दिएर काम गर्ने ठोकुवा गरे ।

मुख्यमन्त्री केसीले प्रदेशका सबै नागरिकलाई कोरोना खोपको चाडै व्यवस्था गर्ने जानकारी दिए । केसीले यसअघिको सरकारले जनतालाई झुटो आश्वासन मात्र बाँडेर प्रदेश र स्थानीय तहको औचित्य नै समाप्त पार्न खोजेको आरोप लगाए ।

केसीले प्रदेश सरकारलाई असफल बनाउन प्रतिगमनकारी लागिरहेको बताउँदै यस्ता शक्तिलाई परास्त पार्न प्रदेश सरकारले जनताको मुहार बदल्ने जनमुखी कार्यक्रम ल्याउने योजना अघि सारेको बताए ।