१३ बैशाख २०८१, बिहीबार

भदौरे झरी रातको समय खुला आकाशमुनि सुत्केरी हुँदा …

pregment woman
सांकेतिक तस्विर

भदौरे झरी । रातको समय । आकाश सफा नै थियो । जिल्लाको प्रसिद्ध धार्मिकस्थल – शम्भुनाथ मन्दिर । शम्भुनाथ नगरपालिका–३ स्थित सो मन्दिर परिसरमा गत शनिबार रातभर एक महिला छट्पटाइ रहिन् ।

पुजा सामग्री बेच्न राखिएको खाटमा करिब ३०÷३२ वर्षीया ती महिला प्रसव पीडाले चित्कार गरिरहेकी थिइन् । स्थानीयवासी सीताराम खंगले भन्नुभयो,“नवजात शिशु चिच्याइरहेको आवाज आयो । बाहिर निक्लिएँ । शिशु एकातिर ,महिला अर्काेतिर रहेछन् । तत्काल सहयोगका लागि सबैसँग आग्रह गरेँ । ”

यसैगरी बेनिराम ठाकुर मन्दिरका पुजारी शिवनाथ ठाकुरलाई पनि शिशुको आवाजले तान्यो । उहाँले भन्नुभयो,“ शिशु भुइँमा र महिला एक छेउमा काँपिरहेकी थिइन् । एकोहोरो रोएको शिशुलाई ध्यान दिन आग्रह गरेँ ।” उहाँका अनुसार शिशुको सालनाल बाँकी थियो ।

स्थानीयवासी कौशल्यादेवी साहलले तत्काल शिशु र सुत्केरीलाई सहयोग गर्नुभयो । ती सुत्केरी विवाहिता हुन् वा अविवाहिता, कसैलाई थाहा छैन ।

ती महिला यसअघि शम्भुनाथमा नदेखिएकोे व्यवसायी सम्पत मण्डलले बताउनुभयो । गर्भावस्था र प्रसूति अवस्था आफैँमा शारीरिक एवं मानसिक हिसाबले जटिल अवस्था हो । यस चरणमा विभिन्न किसिमको समस्याबाट गुज्रिनुपर्ने हुन्छ ।

नर्स सुनिता यादवका अनुसार शिशु जन्माइसकेपछि महिलामा मानसिक समस्या देखिन्छ । ती सुत्केरी पहिलेदेखि मानसिकरूपमा अस्वस्थ रहेको बताइएको छ । समाजसेवी जिबु सदाले भन्नुभयो, “ एक दिन अगाडिसम्म महिला ट्राफिक चोकका माग्दै हिँडेकी थिइन् । ” उहाँका अनुसार ती महिलाको मानसिक सन्तुलन ठीक छैन ।

गर्भावस्थामा पूर्वपश्चिम राजमार्गस्थित कल्याणपुर, बिसनपुर चोकमा भौँतारिएर हिँडेको देखिएको अनबर अलीले जानकारी दिनुभयो ।

रातका समयमा कष्टप्रद रुपमा सुत्केरी भएकी तिनलाई प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले गजेन्द्रनारायण सिंह अस्पतालमा पु¥याउने व्यवस्था मिलाउनुभएको थियो । मानव सेवा आश्रमलगायत संस्थाले सडक आश्रितलाई उद्धार जारी राखेका छन् ।

अहिले पनि दैनिक नयाँनयाँ मानसिक रोगी तथा सडक बालबालिका र महिला सडकमा आउने क्रम रोकिएको छैन । अधिकांश मानसिक समस्या भएका महिला सडकमै सुत्केरी हुने बताइएको छ । स्थानीय तहले सडक आश्रितको तथ्याङ्क सङ्कलन र चासो नराखेको इन्सेक प्रतिनिधि मनोहर पोखरेलले बताउनुभयो ।

अहिले पनि मानसिक सन्तुलन गुमाएर सडक किनार, चोक र पसलपसल चहार्नेको सङ्ख्या जिल्लामा ६० भन्दा बढी रहेको नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले जानकारी दिनुभयो । नानीमैया कटवाल/रासस