२२ कार्तिक २०८२, शुक्रबार

भदौ २८ मा इजरायल जानेहरूको भाषा परीक्षा हुने

Israel

रोजगारीका लागि इजरायल जानेहरूको भाषा परीक्षा भदौ अन्तिम साता हुने भएको छ।

‘केयरगिभर’का लागि इजरायल जान आवेदन दिई वैदेशिक रोजगार विभागबाट स्वीकृत भएकाहरूको परीक्षा भदौ २८ गते हुने भएको हो । उक्त दिन अंग्रेजी भाषाको लिखित परीक्षा हुने वैदेशिक रोजगार विभागका निर्देशक डम्बरबहादुर सुनुवारले बताउनुभयो ।

परीक्षा काठमाडौंका विभिन्न केन्द्रमा दिउँसो १ बजेदेखि भौतिक उपस्थितिमा हुने उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार केन्द्रका सम्बन्धमा परीक्षार्थीहरूको प्रवेश पत्र तथा विभागको वेवसाइट मार्फत जानकारी गराइने छ । प्रवेश–पत्र अनलाइनमार्फत् नै उपलब्ध हुनेछ।

भाषा परीक्षापछि परीक्षार्थीले प्राप्त गरेको अंक सम्बन्धित व्यक्तिको अनलाइन प्रोफाइलमा विज्ञले प्रविष्ट गरिदिने व्यवस्था छ।

सोही प्राप्तांकका आधारमा छनोट समितिले योग्यताक्रम कायम गरी इजरायलबाट प्राप्त मागअनुसारभन्दा २५ प्रतिशत बढी उम्मेद्वारको नामवाली तयार गर्ने विभागले जनाएको छ। विभागले एक हजार चार सयको रोस्टर तयार गर्ने र त्यसबाट एक हजार कामदार इजरायलले छनोट गर्ने विभागले जनाएको छ।

सो नामावली विभागले इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआइबीए) लाई पठाइनेछ । विभागले पठाएको सूचीबाट इजरायलको पिआइबीएले छनोट गर्नेछ। छनौटमा परेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ। रोजगार सम्झौता भएका व्यक्तिहरू इजरायल जान पाउने छन्।

इजरायल जाँदा लाग्ने शुल्क रोजगारदाताले नव्यहोरेको खण्डमा कामदार स्वयंले व्यहोर्नु पर्ने उल्लेख गरिएको छ। भिसा, टिकटलगायत खर्च करिब एक लाख ६५ हजार लाग्ने अनुमान विभागको छ।

केयरगिभर कामका लागि जानेको पाँच वर्षको भिसा अवधि रहनेछ । उनीहरुको मासिक तलब १६ सय अमेरिकी डलर अर्थात झण्डै २ लाख रुपैयाँसम्म हुने उल्लेख छ।