२२ बैशाख २०८१, शनिबार

नेपालमा बज्न थाल्यो एमसीसीबारे विज्ञापन, जनस्तरबाट विरोध सुरु

mcc bigyapan

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले नेपालमा कार्यान्वयन हुने परियोजनाबारे विज्ञापन (टीभीसी) बजाउन सुरु गरेको छ । परियोजनाबारे जनस्तरमा भ्रम छरिएको भन्दै त्यसलाई हटाउने गरी विज्ञापन बजाउन थालिएको एमसीए नेपाल स्रोतले बताएको छ ।

तर, परियोजनाप्रति विमिति राख्नेहरुले पनि विरोध सुरु गरेका छन् । उनीहरुले परियोजना जबरजस्ती कार्यान्वयन गर्न विज्ञापन बनाएर भ्रम छर्न खोजिएको आरोप लगाएका छन् ।

एमसीए नेपालका एक अधिकारीका अनुसार एमसीसीबारेको विज्ञापन अहिलेसम्म एउटा मात्रै राष्ट्रिय टेलिभिजनमा बजिरहेको छ । ‘नेपाल टेलिभिजनमा पनि बजाउने तयारीमा छौं,’ ती अधिकारीले भने,’एमसीसीबारे अफवाहहरु धेरै फैलिएकाले सन्देशमुलक विज्ञापन बनाएका हौं, यो विज्ञापन जनहितकै लागि हो ।’

एमसीसीले बनाएको विज्ञापनमा देशलाई फाइदा हुने एससीसीको बेवास्ता गर्न नहुने, एमसीसीले देशलाई नै फाइदा हुने, एमसीसीको अनुदानले बिजुली प्रसारणलाइन बनेपछि जलविद्युत आयोजनाको बिजुली आफ्नै देशमा खपत गर्न सकिने र बाहिर पनि पठाउन सकिने तथा भरपर्दो बिजुली भएपछि देशको आर्थिक समृद्धिको जग बलियो बन्ने लगायतका सन्देश समेटिएका छन् ।