१५ बैशाख २०८१, शनिबार

विद्या सुन्दर शाक्यलाई भने काठमाडौंको फोहोर उठाउन नसकेकोमा कुनै चिन्ता छैन, ओखरपौवाका बासिन्दाको गुनासो फोहोरले धेरै समस्या भो

fohor bidhya

झण्डै एक महिनादेखि काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको छैन् । जसले गर्दा उपत्यकामा दुर्गन्ध बढेको छ र नागरिकलाई समस्या भएको छ । तर समस्या काठमाडौंमा मात्र छैन । काठमाडौंको फोहोर फालिँदै आएको सिसडोल ओखरपौवाका बासिन्दा झन ठूलो समस्यामा छन् ।

काठमाडौं उपत्यकाका तीन वटै जिल्लाबाट निस्किने फोहोर काठमाडौं धादिङ र नुवाकोटको सिमानामा रहेको सिसडोलमा विसर्जन गरिँदै आएको छ । तर अहिले वर्षाले सिसडोलमा फोहोर लैजाने बाटो बिग्रिएको छ ।

जसका कारण काठमाडौं उपत्यकाको फोहोर उठाउन सकिएको छैन । महानगरमा फोहोरको दुर्गन्ध बढेको छ । र नागरिकलाई समस्या भएको छ । तर काठमाडौंका मेयर विद्या सुन्दर शाक्यलाई भने काठमाडौंको फोहोर उठाउन नसकेकोमा कुनै चिन्ता छैन । उहाँ फोहोरको समस्या पहिलेदेखि नै हुने गरेको तर गाली भने अहिले आफूले खाने गरेको भन्दै पन्छिने गर्नुभएको छ ।

यो समस्या काठमाडौंको मात्र छैन । फोहोर फालिँदै आएको सिसडोलको ल्यान्डफिल साइट आसपासका बासिन्दा झन ठूलो समस्यामा छन् ।

फोहोरको पानी चुहिएर खोलामा जाने र त्यही पानी गाईवस्तुलाई खुवाउनु र बालीनालीमा लगाउनु पर्ने बाध्यताले विभिन्न रोगहरु पैदा भइरहेको उनीहरुको गुनासो छ । फोहोरकै कारण आफूहरुले ठूलो महामारी भोग्नु पर्ने हो कि भन्ने चिन्ता उनीहरुमा छ ।

२ वर्षका लागि मात्रै काठमाडौंको फोहोर विसर्जन गर्ने भनिएको सिसडोलमा १४ वर्षदेखि फालिँदै आएको छ । यो ल्यान्डफिल्ड साइट भरिइसकेको छ ।

यहाँ फोहोरको थुप्रोले पहाड नै बनेको छ । त्यसैले स्थानीबासिन्दाले आफूहरुको ठाउँ व्यवस्थित गरेर अबदेखि फोहोर नयाँ बनाइएको बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइटमा लगेर फाल्न सुझाव दिएका छन् ।

सिसडोलमा अब फोहोर फाल्न नसकिने भएकाले सबै निकायले छिटो भन्दा छिटो आफ्नो काम गरेर बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्नुपर्छ ।

७५ सालमै तयार हुन्छ भनिएको बञ्चरे डाँडा ल्यान्डफिल्ड साइट अझै तयार नभएका कारण नै अहिले काठमाडौंमा फोहोर थुप्रिएको हो । त्यसैले बञ्चरे डाँडाको ल्यान्डफिल्ड छिटो भन्दा छिटो सञ्चालन गर्नुको बिकल्प छैन ।