१३ बैशाख २०८१, बिहीबार

कोरोना संक्रमणबाट थप १६ जनाको निधन, २२९५ संक्रमित थपिए

corona insurance

नेपालमा पछिल्लो पटक करिब २३ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार एन्टिजेन र पीसीआर विधिवाट १६ हजार २ सय ३३ नमूना परीक्षण गर्दा २२ सय ९५ जना संक्रमित पहिचान भएका हुन् । परीक्षणका आधारमा यो संख्या करिब १४ प्रतिशत हो ।

काठमाडौं उपत्यका र प्रदेश एकका तराईका जिल्लामा संक्रमण अझै जोखिमपूर्ण अवस्थामा छ । उपत्यकाका तीन जिल्लामा मात्रै ९ सय ६ जना संक्रमित थपिएका छन् । गाईजात्रामा गरेको भीडले उपत्यकामा संक्रमण बढेको विज्ञको अनुमान छ ।

काठमाडौंमा ६ सय ६५, ललितपुरमा १ सय ३८ र भक्तपुरमा १ सय ३ जनामा संक्रमित थपिएका छन् । उपत्यकाबाहिर झापामा १ सय १७, कास्कीमा १ सय ७, सुनसरीमा १ सय र मोरङमा ९० जना नयाँ संक्रमित भेटिएका छन् ।

पछिल्लो पटक १८ सय ८ जना संक्रमणमुक्त भएका छन् । गम्भीर खालका संक्रमितको संख्या केही घट्न थालेको छ । ५ सय ६८ जनाको आइसीयु र १ सय ६० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयको विवरणमा उल्लेख छ ।

संक्रमणबाट थप १६ जनाको निधन भएको छ । यो सँगै मृतकको संख्या १० हजार ७ सय ३० पुगेको छ । पछिल्ला तीन दिनमा देशभर ५ लाख ९७ हजार ५ सय ९८ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

पूर्ण खोप लगाउनेको संख्या ४३ लाख ९६ हजार ४ सय २ पुगेको छ । पहिलो डोज मात्र लगाउनेको संख्या ५३ लाख १७ हजार ४ सय ८३ भएको छ ।