७ बैशाख २०८१, शुक्रबार

एकदुई पँहेला पात झरेर रुखलाई केही फरक नपर्ने एमाले अध्यक्ष ओलीको टिप्पणी

kp oli 3

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी छोडेर गएका पूर्व नेता माधवकुमार नेपालविरुद्ध आक्रामक अभिव्यक्ति दिनुभएको छ ।

युथफोर्सले काठमाडौंमा गरेको कार्यक्रममा ओलीले नेपालको चर्को आलोचना गर्नुभएको हो । माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने ओलीको दावी छ ।

ओलीका अनुसार नेपालसहितका नेताको बहिर्गमन रुखका एक दुई पहेंला पात झरेका हुन, त्यसैले रुखलाई केही फरक पर्दैन । ओलीले पार्टी फुटेको नभई केही बिग्रिएका मान्छेले पार्टी छाडेको समेत टिप्पणी गर्नुभयो ।

माधवकुमार नेपालप्रति आक्रोश व्यक्त गर्दै ओलीले नेपाल पतीत, बिग्रिएको र कुलंगार नेता भएको आरोप लगाउनुभयो । नेपालले महासागरजत्रो पार्टीमा पौडी खेल्न पुगेन भनेर खाल्डो खनेको ओलीको टिप्पणी छ ।

अध्यक्ष ओलीले माधवकुमार नेपालले गठन गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीले अरु पार्टीसँग मोर्चाबन्दी गर्ने आफूले सुनेको भन्दै ‘एमालेसँग एक्लै लड्न सक्दिनँ’ भन्ने निश्ष्कर्षमा पुगेको अर्थमा व्याख्या गर्नुभयो ।

आउने चुनावमा कुनै पनि निर्वाचन क्षेत्रमा अरुलाई जित्न नदिने पनि ओलीले घोषणा गर्नुभयो ।