११ बैशाख २०८१, मंगलवार

एसएमजी हतियार प्रकरण : छानबिन समितिले बुझायो प्रतिवेदन, निर्दाेष ठहरिएलान् २८ महिनादेखि थुनामा रहेका सैनिकद्वय ?

chitwan kanda

कालिबहादुर गण भरतपुरबाट चोरिएको स्वचालित सट मेशिन गन (एसएमजी) प्रकरणबारे छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।

काठमाडौँबाट चितवन आएर छानबिन गरेको महा–सेनानीको नेतृत्वको कोर्ट अफ इन्क्वायरी बोर्ड ‘छानबिन समिति’ले जङ्गी अड्डामा प्रतिवेदन बुझाएको हो ।

सैनिक प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलका अनुसार साउन ७ मा चितवनमा मृत फेला परेका सैनिक हुद्दा भरत गुरुङको हत्यामा कालिबहादुर गणबाट चोरी भएको हतियार प्रयोग भएको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ ।

गुरुङको हत्या आरोपमा पक्राउ परेका सैनिक जवान गंगाधर ढकालले कालिबहादुर गण भरतपुरबाट हतियार आफैँले चोरेको स्विकारेका छन् । ढकालको साथबाट चितवन प्रहरीले सट मेशिन गन (एसएमजी) बरामद गरेपछि सेनाले छानबिन गर्न ‘विशेष टोली’ लाई चितवन पठाएको थियो ।

०७५ पुस ३ मा ‘एसएमजी’ चोरी भएको थियो । हतियार चोरेको आरोपमा कालिबहादुर गणका अमल्दार लवकुमार गुरुङ र जवान सरोज तामाङ पक्राउ परेका छन् । उनीहरु २८ महिनादेखि भरतपुर कारागारको थुनामा छन् । तर हतियार अर्कैले चोरेको पुष्टि भएपछि निर्दाेष रहेका तामाङ र गुरुङ लाई थुनामा राखिएको भन्दै सेनाको गतिविधिमाथि प्रश्न उठ्न थालेको छ ।

चितवनबाट फर्केको छानबिन समितिले हतियार सैनिक जवान ढकालले नै चोरेको पुष्टि भएको प्रतिवेदन जङ्गी अड्डामा बुझाएको छ । समितिले प्रतिवेदन बुझाएपछि कार्यवाहक प्रधान सेनापति प्रभुराम शर्माले कोर्टमार्सल (मुद्दा सुनुवाइ गर्ने टिम) गठन गरेका छन् ।

एसएमजी हतियारको प्रयोग गरी साथीको हत्या गर्ने सैनिक जवान गंगाधरलाई जिल्ला अदालत चितवनले सैनिक अदालतको जिम्मा लगाइ सकेको छ ।

अदालतको आदेशपछि काठमाडौं लगिएका ढकालमाथि जंगी अड्डामा कोर्टमार्सल भइरहेको छ । कोर्टमार्सल शुक्रवार साँझसम्म सकिने बताइएको छ । कोर्टमार्सल सकिएपछि कालिबहादुर गणका अमल्दार लव कुमार गुरुङ र जवान सरोज तामाङ ‘निर्दाेष हुन् कि होइनन्’ र गंगाधरले कति जेल सजाय पाउँछन् भन्नेबारे निर्णय हुन्छ ।

प्रहरीको बयानमा गंगाधरले आफूले हतियार रातिमा गएर एक्लै चारेको बताएका थिए । गंगाधर कालिबहादुर गणका होइनन् । महेन्द्रदल गणको पल्टन चितवनमा हुँदा उनी त्यहाँ कार्यरत थिए । झापाबाट कालिबहादुर गणको पल्टन चितवन सरेपछि महेन्द्रदल गण त्यहाँबाट शिवपुरीमा सरेको थियो ।

चितवनमा हुँदा ढकालले एरिया अध्ययन गरेर पछि हतियार चोरेको सैनिक अधिकारीहरु बताउँछन् । कोतघरको झ्यालको जाली उधारेर अङ्कुसेले तानेर हतियार चोरेको छानबिनबाट थाहा भएको छ । ढकालले प्रहरीसँग ‘अङ्कुसेले तानेर एसएमजी चोरेको’ बयान दिएका छन् ।