१३ बैशाख २०८१, बिहीबार

कोरोना संकटसँग जुध्न मोदीद्वारा ‘जनता कर्फ्यू’ घोषणा

narendra modi

कोरोना भाइरसको महामारी फैलिरहँदा भारतमा कर्फ्यू घोषणा गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका लागि सम्बोधन गर्दै आइतबार देशभर जनता कर्फ्यू लागू गरिने बताएका छन् । २२ मार्चका दिन सबैलाई जनता कर्फ्यूको पालना गर्न आग्रह गरेका छन्।

मोदीले जनताको हितका लागि भन्दै उक्त कर्फ्यूलाई ‘जनता कर्फ्यू’ नाम दिइएको छ । बिहीबार साँझ देशवासीलाई सम्बोधन गर्दै मोदीले ‘जनताको, जनताद्वारा, जनताका लागि लगाइएको कर्फ्यू’ भनेका थिए ।

जुन कर्फ्यू आगामी आइतबारदेखि बिहान ७ देखि राति ९ बजे सम्मका लागि हुनेछ । ‘घरबाटै गर्न सकिने काम जेसुकै पनि गर्नुहोला, हामीले आफू संक्रमित हुनबाट आफैँ जोगिने संकल्प गर्नु पर्दछ,’ मोदीले भने ।

भारतमा १ सय ७३ जना संक्रमित हुनुका साथै चारजनाको मृत्यु भइसकेको छ । थप क्षति नहोस् भनेर सरकारले कर्फ्यू लागु गरेको हो । प्रधानमन्त्रीले सम्बोधनको क्रममा पहिले झैँ बजारमा जाने वा घुम्ने काम नगर्न पनि आग्रह गरेका छन् ।

उनले भाइरसबाट बच्न जनतालाई स्वयं संकल्प गर्न पनि आग्रह गरेका थिए । संसार नै उक्त भाइरसका कारण संकटमा परिरहेका बेला भारतमा सरकारले नयाँ निर्णय गरेको बताइएको छ ।

उनले संकटको बेला सबै जनताले सबैको मनोबल बढाउन र साथ दिन आग्रह गरेका छन् । सकभर अस्पताल जानुपर्ने अवस्थाबाट बच्न आग्रह गरेका छन् । फोनबाट डाक्टरसँग सल्लाह लिन पनि सुझाएका छन् । ठूलो संकटको बेलामा सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए ।