१६ चैत्र २०८०, शुक्रबार

जोर्गिन्होलाई प्लेयर अफ दि इयर अवार्ड

Jorginho

चेल्सीका मिडफिल्डर जोर्गिन्होले यूईएफए च्याम्पियन्स लीग फूटबलको ‘प्लेयर अफ दि इयर’ अवार्ड प्राप्त गरेका छन् ।

युरोपियन फूटबलको सर्वोच्च निकाय यूईएफएले जोर्गिन्होलाई अवार्ड प्रदान गरेको हो । जोर्गिन्होले म्यानचेस्टर सिटीका केभिन डे ब्रुएना र चेल्सीकै एनगोलो कान्टेलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

जोर्गिन्होले चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । २९ वर्षीय जोर्गिन्होले चेल्सीका लागि यूईएफए सुपर कप समेत जितेका थिए । उनी मुख्य युरोपियन प्रतियोगिताको सबै उपाधि जित्ने चेल्सीका पहिलो खेलाडी समेत हुन् ।

उनले च्याम्पियन्स लिग, युरोपा लिग, यूईएफए सुपर कप र युरोकप जितेका छन् । इटालीले युरो(२०२० को उपाधि जित्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो ।

महिलातर्फको अवार्ड बार्सिलोनाका एलेक्सिया पुटेलासले जितेकी छिन् । पुरुषको कोच अफ दि इयर अवार्ड चेल्सीका थोमस टुचेलले हात पारे । उनले पेप ग्वार्डीओला र रोबर्टो मान्सिनीलाई पछि पारे । महिलाको कोच अफ दि इयर अवार्ड लुइस कोर्टेसले हात पारे ।

पुरुषतर्फ गोलकिपर अफ दि सिजन अवार्ड चेल्सीका एडुआर्ड मेन्डीले हात पार्दा महिलातर्फको अवार्ड बार्सिलोनाका सान्ड्रा पानोसले हात पारिन् ।