१५ बैशाख २०८१, शनिबार

पाँच दशक माले हुँदै एमालेमा जीवन बिताएका माधव नेपाल ६९ वर्षमा नयाँ पार्टी खोल्दै

madhav nepal 768x512 1

प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु बिहान ११ बजे निर्वाचन आयोग पुग्नुभएको छ । झन्डै पाँच दशक माले हुँदै एमालेमा जीवन बिताएका नेता नेपाल अहिले ६९ वर्षका भए । यो उमेरमा आएर उनले फेरि शून्यबाट नयाँ पार्टी गठन गरेका हुन् ।

एकपटक मुलुकको नेतृत्व र १५ वर्ष महासचिवको हैसियतमा एमालेको नेतृत्व सम्हालेका माधव नेपाल आजदेखि औपचारिक रूपमा नेकपा एकीकृत समाजवादी पार्टीको अध्यक्ष बन्ने भएका छन् । एमाले बनाउन हिजो उनलाई साथ दिने झलनाथ खनाल, मुकुन्द न्यौपाने, प्रदीप नेपाल अहिले पनि उनकै साथमा छन् ।

एकीकृत समाजवादी पार्टी चलाउन नेपाललाई तेस्रो पुस्ताका रामकुमारी झाँक्री, विजय पौडेल, राजेन्द्र राईलगायतको दह्रो साथ र सहयोग रहँदै आएको छ । यिनै नेताहरूको बलमा नेपालले अब एकीकृत समाजवादी पार्टीको रथ हाँक्ने छन् ।

हिजोसम्म उनलाई साथ र सहयोग गर्ने अमृतकुमार बोहरा, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, युवराज ज्ञवाली, रघुजी पन्त, भीम आचार्य, गोकर्ण विष्ट एमालेमै फर्केका छन् ।

निर्वाचन आयोगले दल दर्ता सनाखत सुरु गरेको छ ।

सनाखतका लागि केन्द्रीय सदस्यहरुले नागरिकताको प्रमाण पत्र र सांसदहरुले संसद सचिवालयको परिचय पत्र अनिवार्य गरिएको छ । दलका केन्द्रीय सदस्य तथा सांसदका लागि अलग/अलग हस्ताक्षर गर्ने व्यवस्था गरिएको छ । आयोग सचिवालयका अधिकारीहरुको रोहवरमा सनाखत गरिने र यसको प्रतिवेदन आयोग समक्ष आजै बुझाइने प्रवक्ता राजकुमार श्रेष्ठले जानाकारी दिनुभयो ।