१३ बैशाख २०८१, बिहीबार

दल दर्ता हुँदै माधव नेपाल र महन्थ ठाकुरको आज

madhav kumar Nepal and mahantha thakur

निर्वाचन आयोगले आज माधव नेपाल र महन्थ ठाकुरको दल दर्ता गर्दैछ । नयाँ दल दर्ताका लागि निवेदन दिएका नेपालको दल ‘नेकपा एकीकृत समाजवादी’ र ठाकुरको दल ‘लोकतान्त्रिक समाजवादी पार्टी’लाई आवश्यक प्रक्रिया पुर्याएर आयोगले आजै दर्ता गर्ने तयारी गरेको हो ।

आयोगले सनाखतसहित आवश्यक सम्पूर्ण प्रक्रिया आजै टुंग्याएर दल दर्ताको निर्णय गर्ने जनाएको छ । ‘आयोग सचिवालयले दल दर्ताको काम अगाडि बढाइसकेको छ, आज सनाखत सक्छौंं र दर्ताको निर्णय पनि आजै गर्छौं,’ आयोग स्रोतले बतायो ।

आयोगले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिंदा नाम समावेश गरेका पदाधिकारी र केन्द्रीय सदस्य तथा सांसदहरूलाई आज विहान ११ बजेबाट २ बजेसम्म सनाखतका लागि बोलाएको छ । आयोगले नयाँ दल दर्ताको प्रक्रियामा आवश्यक पर्ने कानुनी व्यवस्थाअनुसार दुवै दलकातर्फबाट दल दर्ताका लागि निवेदन दिंदा पक्षमा रहेर हस्ताक्षरसहित नाम बुझाएका केन्द्रीय सदस्य र सांसदलाई मात्र सनाखतका लागि उपस्थित हुन भनेको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले केन्द्रीय सदस्यहरुलाई नागरिकता वा मतदाता परिचयपत्र र सांसदलाई संसद् सचिवालयले जारी गरेको परिचयपत्रसहित आयोगमा सनाखतका लागि बोलाएको जानकारी दिए ।

नेपालको प्रस्तावित दलमा पुरानो दल एमालेबाट ५७ जना केन्द्रीय सदस्यको नाम बुझाइएको छ । त्यसमध्ये ५५ जनाले मात्रै हस्ताक्षर गरेका छन् । अध्यादेशअनुसार एमालेको केन्द्रीय कमिटीको कुल २ सय ३ संख्यामध्येको २० प्रतिशत अर्थात् ४१ जना सदस्यलाई नयाँ दल खोल्न नेपाल समूहले आयोगमा उपस्थित गराउनु पर्ने हुन्छ ।

त्यस्तै, नयाँ थपसहित नेपालले नेतृत्व गर्ने दलमा १ सय १५ जना केन्द्रीय सदस्य प्रस्ताव गरिएको छ ।

त्यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी नामको दलमा ३१ जना कार्यकारिणी सदस्यको नाम बुझाइएकोमा २९ जनाको मात्रै हस्ताक्षर रहेको छ । आयोगले निवेदनमा हस्ताक्षर गर्नेलाई मात्रै सनाखत गर्ने जनाएको छ । ठाकुर अध्यक्ष रहनेगरी सो दलमा राजेन्द्र महतो र शरतसिंह भण्डारीलाई वरिष्ठ नेताका लागि प्रस्ताव गरिएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा भएको संशोधनअनुसार निर्वाचन आयोगले गत बिहीबार नियमावली संशोधन गरिसकेको छ ।