१३ बैशाख २०८१, बिहीबार

नेपाल नेतृत्वको दल दर्ता हुन नदिन एमालेले दियो निर्वाचन आयोगमा अर्को निवेदन

Election Commission Nepal

नेकपा एमालेले माधवकुमार नेपाल नेतृत्वको दल दर्ता हुन नदिन निर्वाचन आयोगमा अर्को निवेदन दिएको छ ।

केन्द्रीय कमिटी र सांसदतर्फ २० प्रतिशत पुग्न नदिन एमालेले कारवाही गरिएका १४ जनाको हस्ताक्षरलाई मान्यता नदिन निवेदन पेश गरेको हो ।

एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेलसहितको टोली आज आयोगमा पुगेर माधवकुमार नेपालसहितका १४ जनालाई भदौ १ गते नै निष्कासन गरेको विवरण आयोगमा बुझाइसकेको भन्दै उनीहरूको हस्ताक्षरलाई मान्यता नदिन आग्रह गरेको छ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निवेदनमा दर्ता भएका नामका व्यक्तिहरुलाई स्वयं उपस्थित भएर सनाखत गर्नुपर्ने बताउनुभयो । उहाँले भारतमा उपचाररत नेता झलनाथ खनालको विषयलाई भने आयोगले आफ्नो विवेकले निस्कर्ष निकाल्ने जानकारी दिनुभयो ।

सभामुखले एमालेको कारवाहीलाई अघि नबढाएको भन्दैमा निर्वाचन आयोगले कानूनविपरीत जान नमिल्ने एमालेको तर्क छ । उनीहरू पार्टी सदस्यबाट निष्कासनमा परेको पत्र निर्वाचन आयोगमा समेत एमालेले त्यही दिन बुझाएको थियो ।

नेपालले भदौ २ गते नेकपा एमाले विभाजनका लागि नयाँ दल दर्ताका निवेदन दिनुभएको थियो । १४ जना सांसदमध्ये ९ जना केन्द्रीय सदस्य छन् । एमालेका ५८ केन्द्रीय सदस्यले दल विभाजनमा समर्थन गरेको भनेर आयोगमा माधवकुमार नेपालले पेश गर्नुभएको छ ।

नयाँ दल दल दर्ताका लागि नेकपा एकीकृत समाजवादीलाई केन्द्रीय कमिटीका ४१ र संघीय संसदका ३१ सदस्यको खाँचो पर्छ । १४ जनालाई मान्यता नदिए २० प्रतिशत पुग्दैन । र, एमालेले त्यही प्रयास गरेको छ ।