१६ चैत्र २०८०, शुक्रबार

माधव नेपालसहित १४ जनाको हस्ताक्षरलाई मान्यता नदिन एमालेद्वारा आयोगको ध्यानाकर्षण

Election Commission Nepal

नेकपा एमालेले पार्टी केन्द्रीय कमिटी र संसद सदस्यबाट कारवाही गरिएका १४ जनाको हस्ताक्षर दल विभाजनमा मान्य नहुने भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

एमालेले माधव नेपालसहित १४ जनालाई भदौ १ गते नै निष्कासन गरेको विवरण आयोगमा बुझाइसकेको भन्दै एमालेले हस्ताक्षरलाई मान्यता नदिन आग्रह गरेको हो ।

एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेलसहितको टोलीले आज आयोगमा पुगेर दल विभाजनका लागि दिएका निवेदन र हस्ताक्षर गर्नेहरूको विवरण लिएको छ ।

सभामुखले एमालेको कारवाहीलाई अघि बढाएनन् भन्दैमा निर्वाचन आयोगले कानूनविपरीत जान नमिल्ने एमाले नेता खरेलको भनाई छ । एमालेले भदौ १ गते १४ सांसदलाई पदमुक्त गरेको पत्र संसद सचिवालयमा दर्ता गराएको थियो ।

उनीहरू पार्टी सदस्यबाट निष्कासनमा परेको पत्र निर्वाचन आयोगमा समेत सोही दिन बुझाइएको थियो । नेपालले भदौ २ गते नेकपा एमाले विभाजनका लागि नयाँ दल दर्ताका निवेदन दिएका थिए ।

खरेलले पार्टीले निष्कासन गरिसकेका व्यक्तिले एमाले केन्द्रीय सदस्यको हैसियतमा दल विभाजनमा हस्ताक्षर गरेकोमा त्यो मान्य हुन नसक्ने बताए । १४ जना सांसदमध्ये ९ जना केन्द्रीय सदस्य छन् ।

त्यस्तै एमालेले जसले दल विभाजनको बेला हस्ताक्षर गरेका छन् उनीहरूको मात्र सनाखत हुनुपर्ने र व्यक्ति आफैं उपस्थित भएर गरेको सनाखत मात्र मान्य हुने बताएको छ ।

दल दर्ताको निवेदन दिने बेला हस्ताक्षर गरेका बाहेक अरु नयाँ थपेर सनाखत नगर्न समेत एमालेले आयोगको ध्यानाकर्षण गराएको छ । आयोगले माधव नेपाल पक्षलाई सनाखतका लागि बुधबार ११ देखि २ बजेको समय तोकेको छ ।