७ बैशाख २०८१, शुक्रबार

एकीकृत समाजवादीलाई उपसभामुखसहित ६ मन्त्रालय, क कसले पाउदैछन् जिम्मेवारी ?

madhav

माधवकुमार नेपाल नेतृत्वको नेकपा )एकीकृत) समाजवादीले निर्वाचन आयोगबाट औपचारिक रुपमा दलको प्रमाणपत्र लिए लगत्तै सरकारमा सामेल हुने निर्णय गरेको छ ।

शुक्रबारसम्म सरकारमा जानेहरुको नाम टुंगो लगाउने नेपाल पक्षको तयारी छ ।

एकीकृत समाजवादीका तर्फबाट सरकारमा जाने मन्त्रीमा सबैजसो नयाँ अनुहारका हुने बताइएको छ । देउवा सरकारमा उक्त पार्टीले माओवादी केन्द्र सरह उपप्रधानसहित ६ मन्त्री पाउने निश्चित भएको छ ।

प्रतिनिधिसभामा रिक्त रहेको उपसभामुख पद पनि एकीकृत समाजवादीले नै पाउने सहमति भएको छ । यस्तै ६ जनालाई संसदीय जिम्मेवारीमा समेत पठाउने पार्टीको योजना रहेको एक नेताले बताए । संसदीय दलको नेतामा भने अध्यक्ष नेपाल स्वयं नै जाने हुनुभएको ती नेताले जानकारी दिए ।

राष्ट्रियसभामा दलको नेतामा वामदेव गौतम वा बेदुराम भुषालको चर्चा छ भने संसदीय दलको उपनेतामा मुकुन्द न्यौपानेको नाम आएको छ । नामबारे अन्तिम निर्णय गर्ने जिम्मा पार्टी संयोजक माधव नेपाललाई दिइएको स्रोतले जनाएको छ ।

पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीमा हालसम्म विरोध खतिवडा, जीवनराम श्रेष्ठ, डा खिमलाल देवकोटा, मेटमणि चौधरी, यज्ञराज सुनुवार, किसान श्रेष्ठ, रामकुमारी झाँक्री वा निरादेवी जैरुको नाम चर्चामा रहेको छ । उपसभामुखको जिम्मेवारी समेत यिनै नेतामध्येबाट एकजनालाई दिइने भएको छ ।

गठबन्धन सरकारमा पार्टीले ६ मन्त्रालयमात्रै पाउने भएकोले एकीकृत समाजवादीले १७ महिनाभित्रमा २५ सांसदले मन्त्री र संसदीय जिम्मेवारी पाउने गरी योजना समेत बनाएको छ । यसबारेमा चन्द्रागिरीमा जारी पार्टीको केन्द्रीय भेलामा पनि छलफल हुने बताइएको छ ।