१६ चैत्र २०८०, शुक्रबार

अन्ततः माधवकुमार नेपालनिकट ‘५७ भाइ’ एमालेमै

uml 1024x538 1

झन्डै डेढ महिनाअघि भएको १० बुँदे सहमति कार्यान्वयनमा जोड दिँदै आएका एमाले वरिष्ठ नेता माधवकुमार नेपालनिकट नेताहरू अन्ततः एमालेमै रहने भएका छन् ।

५ पुस २०७७ मा तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रतिगमनविरुद्धको लडाइँमा नेपाललाई साथ दिँदै आएका नेपालनिकट नेताहरूले आठ महिनापछि उनको साथ छोडेका हुन् । योबीचमा एमाले वरिष्ठ नेता नेपालले भने नयाँ पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् ।

निर्वाचन आयोगले नयाँ दल दर्तालाई मान्यता दिने दिन नजिकिँदै जाँदा उनीहरूले नेपालको साथ छोडेका हुन् । पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई दबाब दिँदै आएका तेस्रो धारका ती नेताहरू र अध्यक्ष ओलीबीच सोमबार भएको बैठकमा सहमति जुटेपछि उनीहरू एमालेमै रहने निष्कर्षमा पुगेका हुन् ।

तेस्रो धारका रूपमा चिनिएका ‘५७ भाइ’ले पार्टी एकताका लागि मंगलबारसम्मको अल्टिमेटम दिएको भए पनि सोमबार नै अध्यक्ष ओलीसँग सहमति जुटेको हो । अध्यक्ष ओलीले मंगलबारभित्र १० बुँदे सहमति कार्यान्वयनका लागि चित्तबुझ्दो जवाफ नदिए आफूअनुकूल निर्णय गर्न स्वतन्त्र रहेको उनीहरूले बताउँदै आएका थिए । एमाले सचिव योगेश भट्टराईले पार्टीलाई एकताबद्ध बनाउन १० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको बताए ।

१० बुँदे सहमति कार्यान्वयन गर्न ओली सहमत

२ जेठ २०७५ को अवस्थामा फर्किने विषयमा अध्यक्ष ओली सहमत भएको उनको भनाइ थियो । ‘त्यो कसरी हुने भन्नेबारे भोलि (मंगलबार) बस्ने बैठकबाट टुंग्याउने छौं, पार्टीभित्र कसैलाई पनि पक्षपात नहुने र सबैको पुरानो जिम्मेवारी कायम हुनेछ,’ भट्टराईले भने, ‘हाम्रा पुराना जिम्मेवारीहरू कायम हुनेछन् र पार्टीभित्र कसैमाथि पनि पक्षपात हुँदैन ।

कसैमाथि पनि अन्यायपूर्ण व्यवहार हुँदैन भन्ने कुराको सुनिश्चितता पार्टी स्थायी कमिटीले गर्छ ।’ १० बुँदे कार्यान्वयनमा सहमति जुटेपछि मंगलबार स्थायी कमिटी बैठक बोलाइएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे स्थायी कमिटी बैठक बस्ने बताए ।

बैठकमा २ जेठ २०७५ को स्थायी कमिटीमा रहेका नेताहरू मात्रै सो बैठकमा सहभागी हुनेछन् । राजधानी दैनिकमा खबर छ ।