१२ बैशाख २०८१, बुधबार

रौतहटका एसपी शाहको कर्तुतः पत्रकार फँसाउन लागुऔषधको प्रयोग

SP sidhi bikram saha

रौतहट । जिल्ला प्रहरी कार्यालय रौटहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले पत्रकारको मोटरसाइकलमा लागुऔषध राखेर फँसाएको पुष्टि भएको छ । उनले पत्रकारलाई फँसाएपछि बाहिरिएको टेलिफोन संवादले घटनाको पुष्टि भएको हो ।

साउन ३२ गते जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएका सादा पोशाकका घुमुवा प्रहरीले पत्रकार मोजुबुल्लाहको बिआर ३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा लागुऔषध नाइट्राभेट राखेका थिए ।

प्रहरी सहायक निरीक्षक उदय प्रसाद यादव र प्रहरी जवान मनोज साहले दुई व्यक्तिको सहयोगमा लागु औषध मोटर साइकलमा राखेको सिसिटिभीको फुटेज पनि बाहिरिइ सकेको छ ।

पत्रकार मोजुबुल्लाहलाई फँसाउन नेपाल पत्रकार महासंघ रौतहटका एक अधिकारी अर्थात नेपालमा रहेर भारतीय सञ्चार माध्यमको शाखा सञ्चालन गर्ने सञ्जय साहनीको समेत मिलेमतो रहेको भेटिएको छ । एसपी शाह र पत्रकार साहनीबीचको टेलिफोन संवाद नै बाहिरिएको हो ।

साउनको अन्तिम साता बिदा जानुअघि उपरीक्षक शाहले नै योजना बनाइ आफु बिदा गएपछि सो कामका लागि असई यादवलाई खटाएको आरोप लागेको छ ।

योजनाबद्ध रुपमा पत्रकार मोजिबुल्लाहलाई होटेलमा बोलाएर बाहिर उनको मोटरसाइकलमा लागुऔषध राखिएको थियो ।

जिल्ला प्रहरी कार्यालयले गरेको पत्रकार सम्मेलनमा यस घटनाको मुख्य योजनाकार संजय सहनी भएको बताएको छ । सहनीकै निर्देशनमा धिरज यादव र जितेश यादवले प्रहरीसँग मिलेर लागुऔषध सहित निर्दोषलाई फँसाएको प्रहरीको दाबी छ ।

एसपी साहले पत्रकार सम्मेलन मार्फत नै दोषी भनिएका सहनीको मोबाइलमा घटनाको एक दिनपछि सम्पर्क गर्दै आफ्ना प्रहरी कर्मचारीले काम सम्पन्न गरेकोमा खुशी व्यक्त गरेका छन ।

एसपी शाहले पत्रकार साहनीलाई सम्पर्क गरेर शुरुमा ‘कहाँ हो ?’ भनेर सोध्छन् । जवाफमा पत्रकार साहनीले गौरमै रहेको बताउँछन् । र एसपी शाहले एक्लै हो की भनेर शुरुमा सोध्छन्

त्यसपछि शाहले “हिजो काम भएछ नी त है ।’ भन्दै लागुऔषध राखेको घटनाबारे सोध्छन् ।

‘अब अहिले जसको पक्षमा काम गर्यो राम्रो भयो, जसको अहितमा काम गर्यो उसले नराम्रो भन्न शुरु गरि हाल्छ नी,’ उनले भनेका छन् ।

जवाफमा साहनीले भनेका छन, ‘भैहाल्छ नि सर, भैहाल्छ । जो पनि आफ्नो औकतमा रहनु पर्छ । हजुरका दुतहरु राम्रा थिए ।’