६ बैशाख २०८१, बिहीबार

सांसद खत्री र शाहीलाई पदमुक्त गर्न लुम्बिनी प्रदेश सचिवालयद्वारा अस्वीकार

Lumbini Pradesh Sabha

लुम्बिनी प्रदेश सभा सचिवालयले नेकपा एमालेले कारबाही गरेका दुई सांसदलाई पदमुक्त गर्न नमिल्ने बताएको छ ।

सांसद अजय शाही र विमलाकुमारी खत्रीलाई पदमुक्त गर्न मिल्ने आधार नदेखिएको लुम्बिनी प्रदेश सभा सचिवालयले जनाएको छ । त्यही ब्यहोराको पत्र एमालेलाई पठाएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

एमालेले ह्वीप उल्लंघन गरेको भन्दै सांसद शाही र खत्रीलाई दलबाट निष्कासनको कारबाही गरी पदमुक्त गर्न सभामुखसमक्ष पत्र पठाएको थियो ।

एमालेले प्रदेश सभा नियमावली २०७४ को नियम १८८ अनुसार दलगत विवरण बुझाउँदा शाही र खत्रीको नाम राखेपनि व्यक्तिगत विवरणमा एमालेको नाम उल्लेख नभएकाले पदमुक्त गर्न नमिलेको पत्र एमालेलाई दिइएको छ ।

प्रदेशसभा नियमावली १ सय ८७ सँग सम्बन्धित अनुसूची ६ अनुसार शाहीले स्वतन्त्र र खत्रीले माओवादी केन्द्रमा आवद्ध रहेको विवरण प्रदेश सभा सचिवालयमा बुझाएको प्रदेश सभा सचिवलायले जनाएको छ ।

शाहीले २०७४ मा स्वतन्त्र राजनीतिक समूहबाट सूर्य चुनाव चिह्न लिएर चुनावमा विजयी हुनुभएको थियो । शाही हाल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन सरकारमा सहभागी हुनुहुन्छ ।

त्यस्तै खत्री तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको दल नेकपाबाट सूर्य चिह्न लिएर प्रदेशसभा उपनिर्वाचनमा विजयी हुनुभएको थियो ।

खत्रीले नेकपा विभाजनपछि माओवादी केन्द्र रोज्नु भएको थियो । एमालेले यो विषयमा जानकारी दिन अहिले पत्रकार सम्मेलन गर्दैछ ।