२२ मंसिर २०७८, बुधबार

बाकसमा आए २४ नेपाली युवक

DEATH 768x424 1

स्वदेशमा रोजगारी नपाएर मलेसियामा रोजगारीका लागि गएका २४ युवकको शव र अस्थु एकैपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ ।

वाइडबडी विमानमार्फत मलेसियामा रोकिएका शव र अस्थु शनिबार विमानस्थल ल्याइपु¥याइएको हो । वैदेशिक रोजगार बोर्डको सचिवालयले मलेसियाबाट नौवटा शव र १५ वटा अस्थु गरी २४ युवकको शव आइपुगेको जनाएको छ ।

बोर्डका अनुसार कोभिडपछि मलेसियामा नियमित उडान नभएका कारण रोकिएका शव एकैपटक सङ्कलन गरेर ल्याउने गरिएको छ । कोभिडका कारण मृत्यु हुनेको अस्थुमात्रै ल्याइने र अन्य कारणले मृत्यु भएका श्रमिकको शव नै ल्याइने गरेको बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले जानकारी दिनुभयो ।

विमानस्थल आइपुगेका नौवटा शव शनिबारै मृतकको घरसम्म पठाइएको बोर्डले जनाएको छ । यसरी विदेशबाट आएका शवको बोर्डले निःशुल्क घरसम्म पु¥याउने काम गर्दै आएको छ । शवसँगै आएका अस्थु भने सम्बन्धित मृतकका आफन्तले विमानस्थलसम्म आएर लिनुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

युवाले विदेशमा कमाएर पठाएको विप्रेषणले देशको झन्डै एकतिहाइ अर्थतन्त्र धानेको भन्दै सरकारले गर्वसाथ तथ्य सार्वजनिक गर्दै आएको छ । तर, कमाउन गएका युवाशक्ति विदेशमा कामकै क्रममा विभिन्न कारणले मृत्यु भएर बन्द बाकसमा फर्किंदा देश, समाज, उनीहरूका आफन्तमा भएको क्षतिबारे खै मूल्याङ्कन ? रोजगारीका लागि गएका युवामध्येबाट दैनिक औसतमा तीनवटा शव यसरी नै विमानस्थलमा आइपुग्छन् ।
पछिल्लो पटक कोभिडका कारण उडान नियमित नहुँदा विदेशमा सङ्कलन भएका शव १५ देखि महिना दिनको बीचमा एकैपटक ल्याउने गरिएको छ । वैदेशिक रोजगार बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/०७८ मा एक हजार २४२ जनाले ज्यान गुमाएका छन् । यस हिसाबले दैनिक मृत्यु हुनेको सङ्ख्या औसत तीन जना हुन आउँछ । जब कि अघिल्लो आर्थिक वर्षमा ६७४ जनाले ज्यान गुमाएको बोर्डको तथ्याङ्क छ ।

बोर्डका अनुसार पछिल्लो एक दशकमा १० हजार लगभगले विदेशमा ज्यान गुमाएका छन् । आव २०७७÷०७८ सम्म नौ हजार ४२४ जनाको मृत्यु भएको बोर्डको तथ्याङ्कमा उल्लेख छ । यो तथ्याङ्क श्रम स्वीकृति लिई करार अवधिभित्रै मृत्यु भएका श्रमिकको हो ।

श्रम स्वीकृति नलिई गएका, ओभरस्टे बसेका, कम्पनी छाडेर भागेका, अलेखबद्ध श्रमिक पनि मृत्यु हुने गरेको छ तर त्यस्ताको तथ्याङ्क बोर्डसँग छैन । विदेशबाट पोस्टमार्टम नगरी शव पठाउने हुनाले मृत्युबारे पहिचान नै हुने गरेको छैन ।

DEATH BODY

मृत्युका कारण थाहा नभएको, प्राकृतिक, अन्य, अनुसन्धान भइरहेकोलगायतका कारण लेखेर शव पठाउने गरिन्छ । यसबाहेक हृदयाघात, आत्महत्या, सडक दुर्घटना, बिरामी, कार्यस्थल दुर्घटनाबाट पनि वैदेशिक रोजगारीमा रहेका श्रमिकले ज्यान गुमाइरहेका छन् ।

श्रमविज्ञ डा. गणेश गुरुङले वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएका आफ्ना नागरिकको वास्तविक पहिचान हुन नसक्नु हाम्रै राज्यको कमजोरी हो भन्नुभयो । ‘‘पोस्टमार्टम नगरी स्वदेश पठाइने गरेकाले मृत्युको वास्तविक कारण खुल्न नसकेको भन्दै डा. गुरुङले भन्नुभयो, ‘‘विदेशमा मृत्यु हुनेको शव ल्याउनुपहिले पोस्टमार्टम गर्न सकेमात्रै पनि मृत्युको वास्तविक तथ्य पत्ता लाग्छ । यसको व्यवस्था राज्यले गर्नुपर्छ तर गर्न सकेको छैन ।’’

त्यसो त सर्वोच्च अदालतले २०७४ कात्तिकमा वैदेशिक रोजगारीमा हुने मृत्युका कारण खोज्न आदेश दिएको थियो । तर, अहिलेसम्म पनि सरकारले त्यसतर्फ चासो देखाएको छैन । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा.डा. केदार बरालको संयोजकत्वमा २०७४ सालमा कार्यदल गठन गरिए पनि त्यसले निष्कर्ष निकाल्न उक्त कार्यदलले मलेसियामा अध्ययन गरेको थियो ।

खाडी मुलुकमा मृत्युको वास्तविक कारण खोजिएको छैन । सर्वोच्चले श्रम गन्तव्य मुलुकमा हुने मृत्युका कारण पत्ता लगाउन अनिवार्य रूपमा पोस्टमार्टम गराउन आदेश दिएको थियो ।

गुरुङले विदेशमा सुतेकै अवस्थामा, सडक दुर्घटना, कार्यस्थल दुर्घटना (माथिबाट खसेर, मेसिनले किचेर)का कारण र कतिपयको आत्महत्या गरेर पनि वैदेशिक रोजगारीमा रहेका नेपालीको निधन भइरहेको बताउनुभयो । विदेशमा दक्ष श्रमिक पठाउन नसक्नु नै विदेशमा मृत्युका पहिलो कारण भएको भन्दै उहाँले भन्नुभयो, ‘‘हामीले यहाँबाट सामान्य विदेशको रहन–सहन, त्यहाँको ट्राफिक नियम, कार्यस्थलबारे, हावापानीबारे सिकाउनुपर्छ भनेर अभिमुखीकरणसम्बन्धी पाठ्यक्रम पनि छ तर त्यो कार्यान्वयन हुन सकेको छैन ।’’

उहाँका अनुसार विदेशमा मृत्युका कारण खोज्दा खाडीमा दिनभर ५५ डिग्रीसम्ममा काम गर्ने र राति एसीको अनियन्त्रित चिसोमा सुत्ने प्रवृत्तिले गर्दा बिहान उठ्दा कतिपयको मृत्यु हुने गरेकोे छ ।

बोर्डले कार्यस्थल सुरक्षा, तनाव व्यवस्थापन, स्वास्थ्य सुरक्षामा श्रमिकलाई अध्यापन गराउने योजना बनाएको छ । बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने घोषणा सरकारले गरे पनि पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता छ । तर, पछिल्लो समय कोभिडका कारण एक लाख ६५ हजार श्रमिकमात्रै वैदेशिक रोजगारीमा गएका छन् ।

बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ वैदेशिक रोजगारीमा हुने निधनको वास्तविक तथ्य पत्ता लगाउन बोर्डले अध्ययन सुरु गरेको जानकारी दिनुभयो ।

    सम्बन्धित समाचार...