१६ चैत्र २०८०, शुक्रबार

प्रदेश सरकारसँग ७ बुँदे सहमति भएसँगै जनकपुरधाममा जारी आमरण अनसन तोडियो

safe image 1

प्रदेश सरकारसँग सात बुँदेको सहमति भएसँगै जनकपुरधाममा जारी आमरण अनसन तोडिएको छ ।

चुरे संरक्षण सहितको ५ बुँदेको माग राख्दै जनकपुरधामको जनक चोकमा विगत ९ दिनदेखि जारी आमरण अनसन प्रदेश २ को सरकारसँग ७ बुँदेको लिखित सहमति भएपछि तोडिएको हो ।

शुक्रवार बेलुका प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले आमरण अनसनमा बस्नुभएका धनुषाका अमन यादव तथा पर्सा जिल्लाका रानी राय भूमिहारलाई जुस खुवाएपछि आमरण अनसन तोडिएको छ ।

७ बुँदाको सहमति पत्रमा प्रदेश २ सरकारका मन्त्री एवं मुख्यमन्त्री लालबाबु राउतको प्रतिनिधि समेत रहनुभएका यादव तथा अनसन बसेकाहरूको तर्फबाट चुरे तथा वनजंगल संरक्षण अभियानका सल्लाहकार तथा सामाजिक अभियन्ता सरोज रायले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

आमरण अनसनकारीका तर्फबाट राखिएको ५ बुँदे माग सम्बन्धमा छानबिन गर्न प्रदेश सरकारले सहमति भएको मितिबाट सात दिन भित्र प्रदेश सरकारको उद्योग पर्यटन तथा वन मन्त्रालयको उपसचिवको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरिएको छ ।

238976305 2159285117546677 9144453344454489252 n 1024x473 1

उक्त समितिले आवश्यक परेमा स्थानीय निकाय, स्थानीय प्रशासन, मालपोत, नापी कार्यालय लगायत सम्बन्धित निकायसँग सहयोग लिन सक्नेछ ।

त्यसैगरी छानबिन समितिले जिम्मेवारी पाएको २१ दिन भित्रमा छानबिन प्रतिवेदन सम्बन्धित निकायमा पेस गर्नुपर्ने सहमति पत्रमा उल्लेख रहेको छ ।

यसैगरी, छानबिन समितिको प्रतिवेदनको सुझाव बमोजिम आवश्यक कारबाहीको प्रक्रिया प्रदेश सरकारले अगाडी बढाउने उल्लेख रहेको छ । चुरे तथा वनजंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल यादवसहित अभियानीहरुमाथि लगाइएको मुद्दा फिर्ता सम्बन्धमा प्रदेश सरकारले पहल गर्ने छ ।

अवैध बालुवा गिटी उत्खननको विरोध गर्दा हत्या गरिएका ओम प्रकाश महतो (दिलीप महतो) लाई पर्यावरण सहिद घोषणा गराउन प्रदेश सरकारले आवश्यक पहल गर्ने सो परिवारको एक जनालाई सरकारी रोजगारीका लागि प्रदेश सरकारले व्यवस्था मिलाउने ७ बुँदेको सहमतिमा उल्लेख रहेको छ ।

चुरे अभियानीहरु साउन २८ गतेदेखि ५बुँदे मागसहित जनकपुरधामको जनक चोकमा आमरण अनसनमा बसेका थिए ।

अनसन तोडे पश्चात् आमरण अनसनरत दुवै जनालाई प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका लागि भर्ना गरिएको छ ।