२६ बैशाख २०८१, बुधबार

अहिलेको राजनीतिबाट सन्तुष्ट छैन : पूर्व प्रदेश प्रमुख प्रसाईँ

bishnu prasai

बागमती प्रदेशको पूर्व प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईँले आम नागरिकलाई जस्तै आफु पनि अहिलेको राजनीतिबाट सन्तुष्ट नभएको बताउनुभएको छ ।

शनिबार बिहान पत्रकारसँग कुरा गर्दै उहाँले अहिले जुन गतिबाट राष्ट्र अघि बढ्दैछ त्यसले राम्रो सङ्केत नदिएको बताउनुभयो ।

प्रसाईँले पूर्व प्रधानमन्त्री केपी ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउँदा विरोध भएर अध्यादेश फिर्ता लिनुपरेको भन्दै अहिले त्यही विरोध गर्नेहरूले अध्यादेश ल्याउँदा लोकतान्त्रिक भयो, भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, “अहिले जुन गतिबाट राष्ट्र अघि बढ्न खोजेको छ त्यसले राम्रो सङ्केत दिँदैन ।” उहाँले पदमा नरहँदा पनि आफु संवैधानिक हिसाबले चल्ने भन्दै प्रदेश प्रमुखमा सिफारिस गर्ने तत्कालिन प्रधानमन्त्री केपी ओली र प्रदेश प्रमुखमा नियुक्त गरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद दिनुभएको छ ।

बागमती प्रदेश प्रमुखको जिम्मेवारी प्रसाईँले २०७६ साल कात्तिक १९ गतेबाट सम्हाल्नुभएको थियो । २१ महिना १६ दिनसम्म प्रदेश प्रमुखको जिम्मेवारीमा रहनु भएका प्रसाईँले सक्रिय राजनीतिबाट आउँदा साँघुरो घेराभित्र बसेको महसुस भए पनि सन्तुष्ट रहेको बताउनुभयो ।

पूर्व प्रदेश प्रमुख प्रसाईँले बागमती प्रदेश प्रमुखमा नियुक्त हुनुभएका यादव चन्द्र शर्मालाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिनुभएको छ ।

बागमती प्रदेश प्रमुख शर्माले आइतबार प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ । मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईँलाई पदबाट हटाएर शर्मालाई नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस भएसँगै शुक्रवार शर्माले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।