१३ बैशाख २०८१, बिहीबार

प्रदेश सरकारले इमान्दारीपूर्वक काम गरेको छः प्रदेश प्रमुख प्रसाइँ

Bishnu Prasai
फाइल फोटो

वाग्मती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाइँले संविधानको मर्म र भावनालाई आत्मसात गर्दै प्रदेश सरकारले आफ्नो जिम्मेवारीलाई जनताको माझमा इमान्दारीपूर्वक लैजान गरिएको प्रयास जनमुखी रहेको बताउनुभएको छ ।

उहाँले प्रदेश सरकार गठन भएको तीन वर्ष पूरा भएको उपलक्ष्यमा आज हेटौंडामा आयोजित तेस्रो वार्षिकोत्सव समारोहको उद्घाटन गर्नुहुँदै जनता अहिले राजनीतिक आन्दोलन होइन, शान्तिपूर्णरुपमा आफ्नो व्यवहारिक जीवन धान्ने योजना चाहेका छन् भन्नुभयो ।

प्रदेश प्रमुख प्रसाइँले प्रदेशको विभिन्न जिल्लामा राष्ट्रिय गौरवको आयोजना तथा बहुवर्षीय योजना कार्यान्वयन गर्न सरकारले गरेको प्रयास जनताबीच लोकप्रिय रहेको उल्लेख गर्नुहुँदै प्रदेश सरकारप्रति आम प्रदेशवासीको विश्वास र भरोसा छ, त्यसैले केही समूहबाट हुने राजनीतिक आन्दोलनलाई उनीहरुले स्वीकार नगर्ने स्पष्ट पार्नुभयो ।

प्रदेश सरकार विसं २०७४ माघ २९ गते गठन भएको र सोही दिन मुख्यमन्त्री पदमा प्रदेशसभाका ज्येष्ठ सदस्य डोरमणि पौडेलले मुख्यमन्त्री पदको शपथ ग्रहण गर्नुभएको थियो । सो अवसरमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार गठन भएको तीन वर्षको अवधिमा सरकारले प्रदेशको १३ वटै जिल्लामा सन्तुलित विकास योजनाको बाँडफाँड र बजेट विनियोजित गरेर पारदर्शीका साथ आफ्नो जिम्मेवारी पूरा गर्दै आएको र जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउने भूमिकामा बहुवर्षीय योजना कार्यान्वयन भइरहेको बताउनुभयो ।

उहाँले प्रदेशअन्तर्गत विभिन्न जिल्लाको दुर्गम भेगमा रहेका विपन्न परिवारको खरको घरलाई विस्थापित गरी जस्ताको छाना लगाउने र ती घरमा एक धारा वितरण गर्ने अभियान अन्तिम चरणमा पुगेको बताउँदै ती क्षेत्रमा सरकारले अनुगमन टोली पठाइसकेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री पौडेलले सरकारलाई आवश्यक पर्ने ऐन, कानून र निमावली तर्जुमा गरिसकेको बताउँदै सरकारले आफ्नो जिम्मेवारीमा पारदर्शी र इमान्दारीपूर्वक कर्तव्य पालना गर्दागर्दै पनि केही नेताहरुले अनावश्यक वादविवाद र आन्दोलनको घोषणा गरेर जनतामा प्रजातन्त्रप्रतिको वितृष्णा उत्पन्न गराउने काम गरेको दाबी गर्नुभयो ।

वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभाले सरकारलाई आवश्यकपर्ने विभिन्न ५८ ऐन कानूनको तर्जमा गरिसकेको र ११ ऐन संशोधनको लागि तयारी अवस्थामा राखिएको उल्लेख गर्नुहुँदै आर्थिक समृद्धि, विकासको पूर्वाधार र दिगो शान्ति सुरक्षाको प्रबन्ध मिलाउन सरकारले आफ्नो भूमिकालाई गतिशील तुल्याउने कार्यमा एकजुट हुन आग्रह गर्नुभयो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव डा मानबहादुर विश्वकर्माले प्रदेशको १३ वटै जिल्लामा सरकारले सन्तुलित, एकीकृत विकास र बहुवर्षीय योजनालाई कार्यान्वयन गर्दै लगिएको बताउँदै स्वास्थ्य उपचारका लागि प्रत्येक जिल्लामा अस्पताल स्थापना र प्रत्येक विद्यालयमा एक नर्सको व्यवस्था गर्ने तयारी भइरहेको बताउनुभयो ।

जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलाल, शहीद गङ्गालाल हृदय रोग प्रतिष्ठानका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारी र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयका सचिव राधिका अर्यालले प्रदेश सरकारले तीन वर्षमा गरिएको आवधिक योजना अनुसार कार्यान्वयन भइरहेको र जनतालाई अहिले स्वास्थ्य उपचार, उच्च शिक्षा अध्ययनको लागि अवसर प्रदान गर्न विभिन्न रणनीति योजना कार्यान्वयन भइरहेको छ भन्नुभयो ।

सो अवसरमा प्रदेश प्रमुख प्रसाइँले वाग्मती प्रदेश सरकारद्वारा प्रकाशित प्रदेश सरकारको तीन वर्षको तथ्याङ्क समावेश पुस्तक र प्रदेश नीति योजना आयोगद्वारा प्रकाशित प्रदेश विकास सम्बन्धी पुस्तकको विमोचन गर्नुभयो ।

त्यस्तै उहाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव डा विश्वकर्मा, प्रदेश प्रहरी नायब महानिरीक्षक वसन्त लामा र नेपाल टेलिभिजन मकवानपुरका प्रतिनिधि दीपेन्द्र रोक्कालाई दोसल्ला ओढाइ प्रमाणपत्रद्वारा सम्मान गर्नुभयो ।

१५ कर्मचारी पुरस्कृत

त्यस्तै सरकारले आफ्नो तीन वर्ष कार्यकाल पूरा गरेको उपलक्ष्यमा १५ जना निजामती तहका विभिन्न कर्मचारीलाई उत्कृष्ठ पुरस्कारसहित सम्मान गरेको छ ।

प्रदेश प्रमुख प्रसाइँ र मुख्यमन्त्री पौडेलले पुरस्कृत कर्मचारीलाई दोसल्ला ओढाइ प्रशंसापत्रद्वारा सम्मान गर्नुभयो । पुरस्कृत हुनेमा भौतिक पूर्वाधार विकास मन्त्रालयका उपसचिव अक्षयगोपाल श्रेष्ठ, सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तम सेढाइँ, भक्तपुर जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजार, आन्तरिक मामिला तथा कानून मन्त्रालयका अधिकृत पेशलकुमार पोखरेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका शाखा अधिकृत नवराज पुडासैनीलगायत रहेका छन् ।

त्यसैगरी सामाजिक सेवातर्फ मामाघर नेपालका संस्थापक संरक्षक अर्पण पराजुली, पत्रकारतर्फ नेपाल टेलिभिजनका मकवानपुर संवाददाता दीपेन्द्र रोक्का क्षेत्री, शिक्षकतर्फ आधुनिक माविका प्रधानाध्यापक वीरवंश बैठा, महिला हिंसा न्यूनीकरणतर्फ सरिता विश्वकर्मा, मगर सांस्कृतिक प्रतिष्ठान भीमफेदीका युवा वैज्ञानिक सरोज प्रजालगायतलाई रहेका छन् ।