१४ बैशाख २०८१, शुक्रबार

स्वीकृतिविना सेवा नविकरण गरेपछि एनसेललाई कारबाही, १ अर्ब ११ कराेड रूपैयाँ ग्राहकलाई फिर्ता गर्न निर्देशन

Ncell brand logo

नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियाटा लिमिटेडलाई कारबाही गरेको छ। एनसेलले स्वीकृतिबिनै विभिन्न सेवा तथा प्याकहरू स्वतः नवीकरण गरेको पाइएपछि प्राधिकरणले कम्पनीलाई कारबाहीस्वरूप नगद जरिवाना गरेको हो।

बिनाजानकारी ग्राहकबाट विभिन्न प्याकमा उठाएको रु एक अर्ब ११ करोड २९ लाख ७६ हजार ८४९ बराबरको रकम तीन महिनाभित्र सम्बन्धित ग्राहकको मोबाइल नम्बरमा फिर्ता पठाउन निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयाे।

उहाँका अनुसार एनसेलले ग्राहकको मञ्जुरीबिनै गेमलफ्ट, ह्वावे एप ग्यालरीजस्ता भ्यालु एडेड सेवा तथा प्याकहरू अटो रिन्यू (नवीकरण) हुने गरी सञ्चालन गरेको र यसबाट आफूहरूसमेत ठगिन पुगेको भनी विभिन्न माध्यमबाट प्राधिकरणमा उपभोक्ताहरूले गुनासो गरेपछि प्राधिकरणले एक निरीक्षण समिति बनाएर अध्ययन गरेको थियो।

अध्ययनका क्रममा सोही गल्ती गरेको पाइएपछि ग्राहकबाट उठाएको रकम फिर्ता गर्न निर्देशन दिइएको प्राधिकरणले जनाएकाे छ ।