१६ चैत्र २०८०, शुक्रबार

अध्यक्ष ओलीको आरोप: पदका लागि माधव नेपाललगायतका केहीले पार्टी छाडे

kp oli 2
फाइल फोटो

नेकपा एमाले विभाजन भएपछि पहिलोपटक अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालका कारण एमाले विभाजनको अवस्थामा पुगेको आरोप लगाएका छन् ।

नेता नेपालले पदका लागि पार्टी विभाजन गरेको आरोप लगाएका अध्यक्ष ओलीले एमाले विभाजन नभई केही नेताले मात्रै पार्टी छाडेको दाबी समेत गरेका छन् ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश गरेको अर्को दिन अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजन नभएको दाबी गरेका हुन् ।

उनले केही नेताले एमाले छाडेर गएको भएपनि एमाले अहिलेपनि देशको मुख्यशक्ति रहेको दाबी समेत गरेका छन् । अध्यक्ष ओलीले एमालेको चुनाव चिन्ह रहेको सूर्यमा केही समयको ग्रहणमात्रै लागेको भन्दै आगामी चुनावसम्ममा ग्रहण हटेर जाने दाबी समेत गरेका छन् ।

नेता नेपालले दर्ता गरेको एमाले समाजवादी दलको केन्द्रीय सदस्यको सूचीमा रहेकाहरुलाई एमालेमै फर्कन आह्वान गरेका अध्यक्ष ओलीले एमालेमा फर्किए उचित उजिम्मेवारी दिने समेत प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष दिन आफु तयार रहेको भएपनि पदकै लागि नेता नेपालले पार्टी फुटाएको आरोप समेत लगाएका छन् ।

सरकारले एमाले विभाजनका लागि अध्यादेश जारी गरेको आरोप लगाएका अध्यक्ष ओलीले केन्द्र सरकारबाट बाहिरिनुपरेको भएपनि देशभर एमाले नेतृत्वको स्थानीय सरकारहरु रहेको समेत दाबी गरेका छन् ।

बुधबार मात्रै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले एमालेका ५८ जना केन्द्रीय सदस्यहरुलाई लिएर ९५ सदस्यीय पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

एमाले समाजवादी पार्टीको नामसहित चुनाव चिन्ह खुला किताव प्रस्ताव गर्दै निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका नेता नेपालले अध्यक्ष ओलीका कारण पार्टी विभाजनको अबस्थामा पुगेको आरोप लगाएका थिए ।