१६ चैत्र २०८०, शुक्रबार

एमाले विभाजनपछि देउवा भेट्न पुगे प्रचण्ड र नेपाल

Deuba Prachand Madhav Nepal
फाइल फोटो

नेकपा एमालेको औपचारिक विभाजनपछि सत्तारुढ गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् ।

बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल र नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच छलफल जारी छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रचण्ड र नेपाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।

तीन नेताले पछिल्लो राजनीतिक विषयमा छलफल गर्ने बुझिएको छ । भेटमा एमाले विभाजनपछिको राजनीतिक परिस्थिति, बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनपछिको रणनीति र मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

बुधबार मात्र नेकपा एमालेबाट छुट्टिएर नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका नेपालले देउवा र प्रचण्डसँग सरकारमा सहभागिता तथा राजनीतिक दल विभाजन सहज हुनेगरी ल्याइएको अध्यादेशबारे छलफल गरेको बुझिएको छ । यसअघि माधव नेपाललाई सरकारमा सहभागी हुन देउवा र प्रचण्डले आग्रह गर्दै आएका थिए ।