१२ बैशाख २०८१, बुधबार

फोटो इडिट गरेर ‘साइबर स्याल’ले मेरो चरित्र हत्या गर्न खोजे : विमला वली

Bimala oli

लुम्बिनी प्रदेशसभाकी सांसद् विमला खत्री वलीले परपुरुषसँगको फोटो जोडजाड पारेर आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै आपत्ति जनाएकी छन् ।

वाइसिएल कार्यकर्ता एकराज बस्नेत र आफूसँगै रहेको तस्बिर सामाजिक सञ्जालमा राखेर मानिसले नकरात्मक टीकाटिप्पणी गर्न थालेपछि सांसद् वलीले खण्डन गरेकी हुन् ।

बुधबार आफ्नो फेसबुकमा विज्ञप्ति सार्वजनिक गर्दै उनले प्रतिशोध साँधेर फसाउन खोज्ने झुन्डले यस्तो गतिविधि गरेको बताएकी छन् । “हिजो एकाएक सामाजिक सञ्जालमा मेरो फोटोलाई फोटोसपबाट मिलाएर जुन किसिमको चरित्र हत्या गर्ने दुस्प्रयास गरियो यसको म कडाभन्दा कडा निन्दा गर्न चाहन्छु,” उनले भनेकी छन्,“एकाएक मेरो फोटो जोडेर आउँदा म आफैँ चाश्चर्यचकित भएकी छु । यो घटनामा सम्बन्धित छैन र जानकार पनि छैन ।”

विमलाले बस्नेतको गालामा चुम्बन गरेको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि उनले स्पष्टीकरण दिएकी हुन् ।

‘साइबर स्याल’हरुबाट चरित्र हत्याको दुष्प्रयास भएको दाबी गर्दै उनले यसमा संलग्नहरुलाई कारबाही गर्न सम्बन्धित निकायसँग मागसमेत गरेकी छन् ।

आफूले माओवादी पार्टी रोजेपछि एमालेमै रहन पटक–पटक दवाव दिइएको भए पनि आफू प्रतिबद्ध भएर माओवादी केन्द्रमै रहेपछि यसरी चरित्र हत्या गर्न खोजिएको उनको भनाइ छ ।

“माओवादी केन्द्र रोजेपछि केही तत्वहरुबाछ ममाथि पटक–पटक आक्रमण गर्ने प्रयत्न गरिरहेका थिए । मुख्यमन्त्री कार्यालयमा एक हप्ता बन्धक बन्नु पनि त्यसकै उपज थियो । अहिले पनि पटक–पटक मलाई पार्टी परित्याग गर्न दवाव आइरहेको थियो । तर, म आफ्नो पार्टीप्रति प्रतिबद्ध हँदा मेरो राजनीतिक जीवनलाई धरापमा पार्ने दुयप्रयास स्वरुप नै मेरो चरित्र हत्या गर्न खोजिएको हो । यसमा कोही पनि भ्रममा नर्पन अनुरोध गर्दछु,” वलीले भनिन् ।

यस्तै, वाइसिएल कार्यकर्ता बस्नेतले पनि आफ्नो फेसबुक आइडी ह्याक गरी भ्रम छर्न खोजेको दाबी गरेका छन् ।

“मेरो फेसबुक कसैले ह्याक गरेर फोटो इडिट गरी भ्रमको खेती गरिएकोमा दुःखित र गम्भीर बनाएको छ,” बस्नेतले फेसबुकमा लेखेका छन्,“नाताले विमला मेरो दिदी हुनुहुन्छ, राजनीतिक प्रतिशोध साँधेर चरित्र हत्या र बदनाम गर्न खोजिएको छ ।”

तत्कालीन नेकपाबाट उपनिर्वाचन जितेर लुम्बिनी प्रदेशसभाको सांसद् बनेकी वली नेकपा खारेजपछि माओवादी केन्द्रमा आबद्ध भएकी छन् ।