१४ बैशाख २०८१, शुक्रबार

राजीनामा दिइन् राज्यमन्त्री विमला खत्रीले

bimala oli

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको माओवादी केन्द्रका प्रदेश अध्यक्ष एवम् सांसद सुदर्शन बरालले जानकारी दिए ।

‘उहाँले आज मात्रै राजीनामा दिनु भएको हो । राजीनामाको पत्र मुख्यमन्त्री कार्यालय पुगिसकेको छ,’ बरालले भने ।

गत जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई कुटपिट गरेको राज्यमन्त्री खत्रीविरुद्ध किटानी उजुरी परेको छ ।

अभद्र व्यवहारको आरोपमा उजुरी परेपछि छानबिन गर्न सरकारले समिति समेत गठन गरेको छ । उक्त समितिलाई छानबिनमा सघाउन भन्दै उनले राजीनामा दिएकी बताएकी छन् ।

खत्रीको राजीनामा पत्र मुख्यमन्त्री कार्यालयमा नपुगेको मुख्यमन्त्री कार्यालयका प्रवक्ता नरेन्द्र कुमार रानाले जानकारी दिए । ‘विषयवस्तुमा छलफल भएको छ, तर आधिकारिक राजिनामा आएको छैन’ मुख्यमन्त्री कार्यालयले भन्यो ।

माओवादी केन्द्रका प्रमु सचेतक तुलाराम घर्तीले १२ असारमै खत्रीले राजीनामा दिएको र आज मुख्यमन्त्री कुलप्रसाद केसीले सदनलाई जानकारी दिने बताए ।