११ बैशाख २०८१, मंगलवार

अपमानले आजित: उमेरको उत्तरार्धमा माधव नेपालको कठिन यात्रा

madhav Ramkumari

संसद्को सबैभन्दा ठूलो दल एमाले औपचारिक रूपमा विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले बुधबार आफ्नो नेतृत्वमा नेकपा (एमाले–समाजवादी) दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

सर्वोच्च अदालतले नेकपा एकता बदर गर्दै गत फागुन २३ मा एमाले ब्युँताएपछि विभिन्न राजनीतिक र सांगठनिक मुद्दामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच बढ्दै गएको मतभेद विभाजनसम्म पुगेको हो । एमाले विभाजनले ओली र नेपालबीचको पाँच दशक लामो सहकार्यमा ‘ब्रेक’ लागेको छ ।

पार्टीभित्र अध्यक्ष ओलीको ‘अपमानले आजित’ भएर ६९ वर्षको उमेरमा राजनीतिको नयाँ अध्याय सुरु गर्ने कठोर निर्णय लिएका नेपालका लागि ‘विद्रोह’ बाध्यात्मक कदम हुन सक्छ तर यो धेरै चुनौतीपूर्ण छ । २०४६ पछि संस्थापनबाट अलग भएर बनेका नयाँ पार्टी फस्टाएको उदाहरण छैन ।

यसअघि २०५४ फागुन २१ मा वामदेव गौतम नेतृत्वको समूहले एमाले फुटाएर नेकपा माले बनाएको थियो । त्यसबेला ओली र नेपाल एकै ठाउँमा थिए भने अहिले नेता झलनाथ खनालले नेपाललाई साथ दिएका छन् । तर, गौतमले भने हस्ताक्षर गरेका छैनन् । ‘वामदेव गौतमले मेरो सहमति छ तर अहिले जोडिन्नँ, पछि जोडिन्छु भन्नुभएको छ,’ नेता वेदुराम भुसालले भने ।

केन्द्रीय कमिटी वा संसदीय दलको २० प्रतिशत संख्या पुर्‍याएर दल विभाजन गर्न सक्ने अध्यादेश राष्ट्रपतिबाट जारी भएलगत्तै नेपाल, राजेन्द्र पाण्डे, रामकुमारी झाँक्रीलगायतले आयोग पुगेर नयाँ दल दर्ताको निवेदन दिएका थिए ।

नेपाललाई एमालेको केन्द्रीय कमिटी (२०३ सदस्यीय) का ५८ सदस्यले साथ दिएको पाण्डेको दाबी छ । कुल केन्द्रीय सदस्यमध्ये २८ दशमलव ५६ प्रतिशत छन् । तर, नयाँ दल भने ९५ सदस्यीय छ । तर, लामो समय नेपाल समूहमा रहेका मुख्य नेताहरूले भने निर्णायक बिन्दुमा उनलाई साथ दिएका छैनन् ।

केन्द्रीय सदस्यमा नाम भएका प्रदीप नेपालले आफू तटस्थ रहेको बताएका छन् भने कृष्ण खनाल र भानुभक्त जोशीले आफूहरू नेपाल नेतृत्वको पार्टीमा नरहेको घोषणा गरेका छन् । विस्तृत समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।