११ बैशाख २०८१, मंगलवार

पहिलो महिला मुख्यमन्त्री बन्दै अष्टलक्ष्मी शाक्य, ९ बजे सपथ ग्रहण

Astha Laxmi Shakya

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएका छन् । नेकपा एमाले औपचारिक रुपमा विभाजन भएसँगै पौडेलले संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन् ।

एमाले नेतृ अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बन्ने तय भएको छ । वागमती प्रदेशमा एमाले संसदीय दलको नेता चयन भएसँगै शाक्य मुख्यमन्त्री बन्ने निश्चित भएको हो । बागमती प्रदेशको मुख्यमन्त्रीका रुपमा अष्टलक्ष्मी शाक्यले आज राति ९ बजे सपथ ग्रहण गर्ने भएकी छन्।

मन्त्रिपरिषदको बैठक राखेर मुख्यमन्त्री पौडेलले सहयोग बापत सबै मन्त्रीहरुलाई धन्यवाद दिए । आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डेले प्रदेश प्रमुखलाई भेटेर राजीनामा बुझाउन गएको जानकारी दिए ।

राजीनामापछि पौडेलले सञ्चारकर्मीहरुसँग भने पार्टी एकताका लागि आफूले पदबाट राजीनामा दिएको बताए ।

उनले दलको नेताबाट राजीनामा दिएसँगै अष्टलक्ष्मी शाक्यलाई निर्विरोध रुपमा संसदीय दलको नेतामा चयन गरेको थियो । हेटौंडा–१० स्थित प्रदेशसभा सचिवालयमा बसेको बैठकले शाक्यलाई संसदीय दलको नेतामा चयन गर्दै मुख्यमन्त्रीको रुपमा अगाडि बढाउने निर्णय गरेको सांसद अरुण नेपालले जानकारी दिए ।

शाक्य हिजोका दिनसम्म एमालेको माधव नेपाल समूहकी नेतृका रूपमा चिनिन्थिन् । आज नेपाल समूहले एमाले फुटाएर निर्वाचन आयोगमा नयाँ दल दर्ता गरिरहँदा उनी विभाजन प्रक्रियाबाट बाहिर भएकी छन् । माधव नेपालको साथ छोडेसँगै उनलाई मुख्यमन्त्री बनाउन एमाले संसदीय दल तयार भएको हो ।

वाग्मती प्रदेशको दोस्रो मुख्यमन्त्रीको रुपमा शाक्य संविधानको धारा ७६ (१) अनुसार बहुमतको आधारमा नियुक्त हुनेछिन् ।

नेपालमा संघीय प्रणालीको शुरूआत भएर बनेका सात प्रदेश सरकारमा अहिलेसम्म महिला नेतृत्व थिएनन् । वागमतीले अष्टलक्ष्मीको रूपमा अनुभवले खारिएकी नेतृलाई मुख्यमन्त्री पाएको छ । यद्यपि, उनको कार्यकाल भने धेरै लामो छैन । वर्तमान प्रदेशसभाको बाँकी करिब डेढ वर्षे कार्यकाल उनले मुख्यमन्त्रीका रूपमा चलाउने छिन् ।

२०७४ सालको चुनावमा प्रतिनिधिसभाको उम्मेदवार नबनी वागमती प्रदेशसभाको चुनाव लड्दा उनलाई भावी मुख्यमन्त्रीका रूपमा हेरिएको थियो । काठमाडौं ९ (ख) बाट प्रदेशसभा उम्मेदवार बनेकी शाक्य स्वयम् पनि मुख्यमन्त्रीकी आकांक्षी थिइन् । तर, पार्टीभित्रको गुटगत राजनीतिका कारण उनको चाहना पूरा भएन । शाक्यलाई पन्छाउँदै ओली समूहका डोरमणी पौडेलले मुख्यमन्त्री पाए । त्यसयता उनी वागमती प्रदेशमा डोरमणीकी प्रतिद्वन्द्वीका रूपमा थिइन् । तर, अहिले डोरमणीले त्यागको भावना देखाउँदै शाक्यलाई सौहार्दतापूर्वक पद हस्तान्तरण गरेका छन् ।