७ बैशाख २०८१, शुक्रबार

फुट्यो माधव नेपाल समूह : अधिकांश स्थायी कमिटी सदस्यले छाडे साथ

madhav kumar nepal

नयाँ दल दर्ताको प्रक्रिया अघि बढाएसँगै माधवकुमार नेपाल समूह विभाजित भएको छ ।

एमालेका वरिष्ठ नेता नेपालले आफ्नो संयोजकत्वमा नेकपा एमाले (समाजवादी) दर्ता प्रक्रिया अघि बढाएका छन् । तर, लामो समयदेखि उनलाई साथ दिँदै आएका दोस्रो तहका नेताहरु नयाँ दल एमाले समाजवादीमा नजाने भएका छन् ।

नेता नेपालले नयाँ दल दर्ता गर्न खोजेपछि उपाध्यक्ष युवराज ज्ञवालीले स्थायी कमिटीको बैठक राखेर को कता लाग्ने भनेर छलफल गर्न प्रस्ताव गरेका थिए । तर, नेपालले त्यसमा पनि सहमत भएनन् र नयाँ अध्यादेशअनुसार केन्द्रीय कमिटीको २० प्रतिशत संख्या पुर्याएर दल दर्ता गर्न अघि बढेका छन् ।

तर, उनलाई एमाले पदाधिकारी र स्थायी कमिटीको ठूलो हिस्साले साथ नदिने भएको छ ।

स्रोतका अनुसार तीन उपाध्यक्ष युवराज ज्ञवाली, भीम रावल र अष्टलक्ष्मी शाक्यले नेता नेपालको साथ छोडेका छन् । उपमहासचिव घनश्याम भुसाल, सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्ड र अनुशासन आयोगका प्रमुख अमृत बोहरा नयाँ दलमा नजाने भएका छन् ।

स्थायी कमिटी सदस्य वेदुराम भुसाल र मुकुन्द न्यौपानेले भने नेता नेपालको साथ दिएका छन् ।

केन्द्रीय कमिटीको पनि ठूलो हिस्सा एमाले समाजवादीमा नजाने यो समूहका नेताहरुको दाबी छ ।