१३ बैशाख २०८१, बिहीबार

अन्तिम संघारमा नेकपा एमाले विभाजन !

kp oli madhav nepal
फाइल फोटो

नेकपा एमाले विभाजनको अन्तिम चरणमा पुगेको छ ।

नयाँ पार्टी गठनको गृहकार्यमा रहेका नेपाल पक्षका नेताहरूका अनुसार राष्ट्रपतिबाट आज अध्यादेश जारी भए नयाँ दल दर्ताका लागि आजै आयोग जाने तयारी छ ।

निर्वाचन आयोगमा कायम २०३ सदस्यीय केन्द्रीय कमिटीमध्येबाट करिब ६० जना सदस्यको हस्ताक्षर संकलन गरिसकिएको नेता मेटमणि चौधरीले जानकारी दिनुभयो । दल दर्ताका लागि आवश्यक पर्ने कागजात (हस्ताक्षर, नागरिकता, विधान, नियमावलीलगायत) तयार गर्ने जिम्मा स्थायी कमिटी सदस्य बेदुराम भुसाल, केन्द्रीय सदस्य राजेन्द्र पाण्डे, विजय पौडेल लगायतलाई दिइएको छ ।

नेपाल समूहले यसअघि नै सबै जिल्लामा जिल्ला कमिटी, जनवर्गीय संगठनमा समानान्तर कमिटी बनाएको छ ।

यसअघि जिल्ला कमिटीमा नेपाल पक्षका ४० अध्यक्ष थिए । तर पछि केही नेता घटेर करिब ३५ मात्रै रहेको नेताहरूको भनाइ छ । सर्वोच्च अदालतले फागुन २३ मा नेकपा एकता बदर गरेलगत्तै ब्युँतिएको एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच राजनीतिक र सांगठनिक मुद्दामा विवाद छ ।

विवाद व्यवस्थापनका लागि भएका प्रयास असफल भएको भन्दै नेपाल समूहले अलग्गै पार्टी घोषणाको गृहकार्यमा जुटेको हो । पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी र कोस्टमा केही थप्ने टुंगो भइसकेको छ ।

नेपाल कम्युनिस्ट पार्टी एमाले (समाजवादी), नेपाल कम्युनिस्ट पार्टी एमाले (क्रान्तिकारी) वा नेपाल कम्युनिस्ट पार्टी समाजवादी नाम राख्ने प्रस्ताव आएको चौधरीले बताउनुभयो । चुनाव चिह्न ताराभित्र हँसिया हथौडा, कलश, दियो, पुस्तकमध्ये एउटा हुनसक्ने बताइएको छ ।