१६ चैत्र २०८०, शुक्रबार

प्राइभेट कम्पनी एमाले ओलीको हुने भएपछि विद्रोह सुरु गरेका हौँः माधव नेपाल

madhav
फाइल फोटो

नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले ओली अहङ्कारको घोडामा सवार भएकोले अहिले पार्टी विभाजनको मोडमा पुगेको बताएका छन् ।

मंगलबार अनेरास्ववियू र अखिल नेपाल किसान महासङ्घले गरेको जुम अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एमालेलाई ओलीले आफ्नो प्राइभेट कम्पनी बनाउन खोजेपछि आफ्नो समूहले विद्रोह गरेको बताए ।

उनले आफू पार्टी एकताको पक्षमा रहे पनि ओली विभाजनको पक्षमा लागेको समेत बताए । पार्टी सत्तामा गएपछि ओलीमा दम्भ आएको र सबै मैले नै गरे भन्ने अहङ्कारको भावना आएको नेता नेपालको भनाई छ ।

‘उहाँमा नराम्रो ढङ्गले व्यक्तिवाद विकास भयो । त्यो प्रवृत्ति निरङ्कुश रूपमा विकास भयो । उहाँको आलोचना गर्नेहरू उहाँको विरोधी बन्न थाले । उहाँलाई साथ दिनेहरू टाढिदै गए । ओलीले पार्टीलाई आज जुन दुर्दशामा पुर्‍याउनुभएको छ, त्यसलाई उठाउन धेरै समय लाग्नेछ । राम्रो काम गर्ने , केही गरेर देखाउने ठाउँबाट पार्टी धेरै पछाडि पुगेको छ । दुई तिहाइबाट आज पाटी ८३ सिटमा झरेको छ ।

उहाँले त्यसबारे कहिले पनि आत्मालोचना गर्नुभएन । देशलाई भ्रष्टाचारमा चुर्लुम्म डुबाउनुभयो ।, विदेशीसँग मध्यरातमा भेटेर त्यसलाई पनि फाल्नुभयो । आज यो पार्टी गणतन्त्र विरोधी हो कि जस्तो भएको छ । राजावादीहरू फेरी राजतन्त्र स्थापित हुन्छ कि भनेर खुसी भएका छन् । उहाँका नजिककाहरु अहिले सङ्घीयताको विरोध गरिरहेका छन् ।’

नेता नेपालले अहिले पार्टीमा दुई नेता बिचको लडाई नभएर दुई बिचार समूहको लडाई भएको बताए । केपी ओलीमा व्यक्तिवादको विकास भएको, कम्युनिस्ट आचरण नभएको आरोप लगाए । पार्टी ओलीको प्राइभेट कम्पनी हुने भएपछि विद्रोह सुरु गरेको नेता नेपालले बताए ।