१४ बैशाख २०८१, शुक्रबार

मेलम्चीको मुहान क्षेत्रमा अझै १ करोड ५ लाख घनमिटर भन्दा बढी लेदो र गेग्रान बाँकी

60caac0ba86fc melamchi123

काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची खोलाको मुहान क्षेत्र भेमाथाङमा अझै पनि ठुलो परिमाणमा गेग्रान र हिलो रहेकाले ठुलो पानी परेमा पुन लेदोसहितको बाढी आउन सक्ने विज्ञहरूले जनाएका छन् ।

मुहान क्षेत्र भेमाथाङमा जम्मा भएको गेग्रान वर्षादले बिस्तारै कटान गरिरहेको र उक्त क्षेत्रभन्दा तल्लो भागमा पनि साना साना पहिरोहरू विकसित भएकाले मेलम्ची खोलामा पुन बाढी आउने सम्भावना रहेकाले नदी आसपासका बासिन्दालाई सतर्क रहन विज्ञहरूले सुझाव दिनुभएको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विज्ञ टोलीले चार दिनसम्म मेलम्चीको मुहान क्षेत्र भेमाथाङमा स्थलगत अध्ययन गरी फर्किएपछि मेलम्चीमा अझै बाढी आउन सक्ने आधार भएको जनाएको हो ।

विज्ञहरूको समूहले भेमाथाङमा माथिबाट बगेर आएको ३० मिटर उचाइ, १५ सय लम्बाई र ७ सय चौडाइ भएको १ करोड ५ लाख घनमिनटर गेग्रान जम्मा भएर बसेको र ठुलो वर्षा हुनसाथ बग्नेक्रम सुरु हुने र त्यसले पुन मेलम्ची खोलामा बाढी आउन सक्ने जानकारी दिएको छ ।

स्थलगत अध्ययनमा सहभागी भूगर्भविद् शिव कुमार बास्कोटाले भेमाथाङको माथिल्लो क्षेत्रमा वर्षात्, तापक्रम वृद्धि र भूकम्पले चिरा परेको जमिनबाट धेरै पहिरोहरू विकसित भएको र सो क्षेत्रको तल्लो भेगमा पनि साना साना पहिरोहरू विकसित भएको जानकारी दिनुभयो ।

विज्ञ बास्कोटा भन्नुहुन्छ ‘मनसुनजन्य गतिविधि बढेर ठुलो पहिरो विकसित भयो भने तल्लो तटीय क्षेत्रमा भेल बाढी आउने सम्भावना व्यापक रहेको छ । कम्तीमा यस मनसुन अवधिभर हामीले छोडेको घरहरूमा बस्न सक्ने अवस्था छैन ।’

मेलम्ची खोला र पेम्दाङ खोला बगेर भेमाथाङ चउरमा जम्मा हुन्छ । विकसित भएका पहिरोबाट ढुङ्गा खसेमा ती खोला थुनिने र पुन विस्फोट भएर लेदो सहितको बाढी आउने तर्फ विज्ञ बास्कोटाले सचेत गराउनुभयो ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भेमाथाङभन्दा तलका क्षेत्रहरू संरक्षण गर्नुपर्ने भन्नुहुँदै मेलम्चीका बासिन्दालाई त्रसित नहुन आग्रह गर्नुभयो ।

गाउँपालिका अध्यक्ष शेर्पा भन्नुहुन्छ ‘के गर्दा त्यो एरियालाई सेभ गर्न सकिन्छ, तलबाटै जाली लगाउँदै जाने हो भने सेभ गर्न सकिने देखिन्छ । पछिल्लो रिक्स तल्लो भेग नै हो ।’

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले विपदबाट बच्न उच्च जोखिम क्षेत्रका बस्ती स्थानान्तरण गर्ने आफ्नो प्राथमिकता भएको बताउनुभयो ।

प्राधिकरणका प्रमुख पोखरेलले भन्नुभयो ‘यो अध्ययनले त्यस क्षेत्रमा के कस्ता जोखिम छन् भन्ने देखाएको छ, कस्ता संरचना बनाउने, बस्तीबारे पहिलाका अध्ययनलाई रिभिजिट गर्ने काम सुरुवात भएको छ ।’

नदी बग्ने ठाउँमा मानिसले बस्ती बसाएको र बाढी आउँदा आफ्नो पुरानै धार नदीले समात्न खोज्दा यो विपत्ति आएको पनि विज्ञहरूले निष्कर्ष निकालेका छन् ।