१५ बैशाख २०८१, शनिबार

कब्जामा लिए तालिवान विद्रोहीले अफगानी राष्ट्रपति कार्यालय, पदबाट राजीनामा दिँदै घानीले देश छाेडे

Ashraf Ghani 69

तालिवान विद्रोहीहरुले अफगानी राष्ट्रपतिको कार्यालयलाई कब्जामा लिएका छन् । रोयटर्सका अनुसार विद्रोहीहरु कार्यालय भवनभित्र पसेर झण्डा समेत गाडेका छन् ।

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले पदबाट राजीनामा दिँदै देश छाडेका छन् । रोयटर्सका अनुसार तालिवानी विद्रोहीले राजधानी नियन्त्रण गरेर सत्ता आफ्नो हातमा लिन सक्ने चर्चाका बीच राष्ट्रपति घानी देश छाडेर काजिकिस्तान पुगेका हुन् । उनीसँगै उपराष्ट्रपति अमरुल्ला सलेहले पनि देश छाडेका छन् ।

आजै बेलुका राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति देश छाडेर काजिकिस्तानतर्फ भागेका छन् । सीएनएनका अनुसार तालिवान विद्रोहीहरु काबुल सहरतर्फ प्रवेश गर्न सुरु गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्दै तालिवानी प्रवक्ताले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणका लागि आफूले वार्ता गरिरहेको बताएका थिए।

दश दिनभित्रै तालिवानले प्रमुख सहर कब्जा गरेपछि राष्ट्रपति घानीलाई राजीनामा दिन तीव्र दबाब थियो । काबुलस्थित पत्रकार बसिर अहमद ग्वाखले राष्ट्रपति घानीले राजीनामा दिएको जनाएका छन् । उनका अनुसार राजीनामको सक्कली पत्र कतारस्थित तालिवानलाई पठाइएको छ । राष्ट्रपति घानीले देश छाडेको पुष्टि पनि पत्रकार ग्वाखले पहिलोपटक गरेका थिए ।

काबुल मिसनका अमेरिकी राजदूतलाई अमेरिकी सेनाले काबुल एयरपोर्टबाट उद्दार गरेको छ ।