६ बैशाख २०८१, बिहीबार

अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन सरकारको आग्रह (सम्पर्क नम्बरसहित)

foregin

सरकारले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

आइतबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलनका लागि अनलाइन रजिस्ट्रेसन शुरु गरेको जानकारी दिएको छ ।

अब अफगानिस्तानमा रहेका नेपाली नागरिक वा उनीहरुको परिवारका सदस्यले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/np/ मा आफ्नो नामसहितको विवरण समावेश गर्न सकिनेछ ।

परराष्ट्र मन्त्रालयले उद्धारसँग सम्बन्धित सम्पर्कको लागि भाइबर, ह्वाट्सएप सुविधासहितको मोबाइल नम्बरहरु समेत सार्वजनिक गरेको छ ।
उद्धारका लागि ९७७-९७७४९३२६४५८ (कन्सुलर सेवा विभाग) र ९७७-९७७४९३२६४५९ ((परराष्‍ट्र मन्त्रालय)) मा सम्पर्क गर्न सकिनेछ ।

काबुलस्थित विभिन्‍न मुलुकका कूटनीतिक नियोगहरु तथा अन्तर्राष्‍ट्रिय संघ संस्थाहरुमा कार्यरत नेपालीहरुलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्‍न र स्वदेश फर्काउन नेपाल सरकारले पहल थालेको हो ।

यस्तै सरकारले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्‍ट्र संघको कार्यालयहरुलाई औपचारिक पत्राचार पनि गरेको छ ।

अफगानिस्तानमा पछिल्लो घटनाक्रम तथा अवस्थाका बारेमा नयाँ दिल्लीस्थित नेपाली नियोगबाट ट्राभल एडभाइजरी जारी गरिएको छ ।

मन्त्रालयले अफगानिस्तानमा वैदेशिक रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीहरुसँग त्यहाँ कार्यरत नेपालीहरुको विवरण तथा उद्धार कार्यका लागि भरपर्दो सूचना एवं तथ्यांक पनि माग गरेको छ ।