७ बैशाख २०८१, शुक्रबार

नेपाल वायुसेवा निगमको जहाज अफगानिस्तान जाने तयारीमा, उडान अनिश्चित

nepalairlines a320 airbus

राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमको जहाज अफगानिस्तानको राजधानी काबुल जाने तय भएको छ ।

काबुलबाट काठमाडौंमा यात्रु ल्याउन एक निजी कम्पनीले नेपाल एयरलाइन्सको जहाज बुक गरेको छ ।

पछिल्लो समय विद्रोही समूह तालिवानले देशमा कब्जा जमाउन थालेसँगै विदेशी नियोगमा कार्यरत विदेशी नागरिकहरूको भागाभाग चलिरहेकै बेला नेपालीहरूको उद्धारका लागि निगमको जहाज अफगानिस्तान जाने भएको हो ।

दुबईबाट नेपालीलाई अफगानिस्तान लैजाने एक निजी कम्पनीले नेपालीको उद्धारका लागि भन्दै निगमको जहाज बुक गरेको निगमका एक उच्च अधिकारीले जानकारी दिए ।

‘भदौ ११ का लागि जहाज बुक भएको छ,’ उनले भने, ‘काबुलमा सेड्यूल उडान जारी रहेको अवस्थामा हाम्रो उडानसमेत हुनेछ, नत्र नहुन पनि सक्छ ।’ सो दिनसम्मको अवस्था हेरी थप निश्चित हुने उनको भनाइ छ ।

दुबईको फ्रिको एफजेड कम्पनीले चार्टर बुकिङ गरेको हो । यद्यपि, फ्लाइट बुकिङ भइसके पनि सुरक्षा अवस्थालाई ध्यानमा राख्दै निगमले परराष्ट्र मन्त्रालयसँग अनुमति माग गरेको छ ।

निगम स्रोतका अनुसार ११ भदौका लागि भने १ सय जना नेपाली ल्याउने भनी जहाज बुक गरिएको हो । काबुलमा यसअघि नेपाल वायु सेवा निगमले नेपाली नागरिकको शव ल्याउने प्रयोजनका लागि एक उडान गरिसकेको छ ।

‘उडान सुरक्षाको प्रत्याभूति सहित परराष्ट्रमन्त्रालयबाट अनुमति पाए अफगानिस्तान चार्टर उडान भर्न निगम तयार छ’ निगमले बताएको छ । यदि निगमले चार्टर उडानका लागि अनुमति पाए आगामी अगस्ट २७ मा अफगानिस्तानको काबुल पुगेर सो क्षेत्रमा रहेका करिब एक सय जना नेपालीलाई स्वदेश फर्काइनेछ ।

उता, नेपाल एयरलाइन्सका महाप्रबन्धक डीमप्रसाद पौडेलले पनि उडान हुने निश्चित नभएको बताए । ‘युद्धग्रस्त क्षेत्रमा हाम्रो जहाज सिधै उडाउन मिल्दैन,’ उनले भने, ‘सुरक्षाको ग्यारेन्टी भएमा र अनुमति पाएमा उड्न सक्छ ।’

उनले सरकारले उद्धार गर्नुपर्ने मानिसको संख्या यकिन भएपछि भने जहाज लैजाने तयारी थाल्ने बताएका छन् । तर, त्यसका लागि कम्तीमा ५ दिनको समय भने लाग्ने उनको भनाइ छ ।