१३ बैशाख २०८१, बिहीबार

प्रचण्डको प्रस्तावमा महाशक्ति राष्ट्रहरु बीच अन्तरविरोधका नयाँ रुपहरु देखा

maobadi kendra

नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको प्रस्तावमा विश्व महाशक्ति राष्ट्रहरु बीच अन्तरविरोधका नयाँ रुपहरु देखा परेको उल्लेख गरेका छन् ।

उनले राजनीतिक र संगठनात्मक प्रस्तावमा विश्वमा साम्राज्यवाद एवं उत्पीडित राष्ट्र र जनताका बीच, साम्राज्यवादी देशहरु बीच, स्वयं साम्राज्यवादी देशहरु भित्र पूँजीपति र मजदूरहरुका बीचका आधारभूत अन्तरबिरोधहरु झन तीब्र बन्न गएको बताएका छन् ।

प्रस्तावमा भनिएको छ, ‘पूँजीवादमा आएको संकटलाई व्यवस्थापन गर्न आफैं भित्र गरेका कथित सुधार र नवउदारवाद बारे स्वयं पूँजीवादीहरुमा नै विश्वास र भरोसा टुट्दै गएको छ ।

साम्राज्यवादी शाक्तिहरु बीचको अन्तरविरोधका कारण पूँजीवादको संकट गहिरिँदो रुपमा अभिव्यक्त भइरहेको छ । उन्नाइसौं र बिसाैं शताब्दीमा भन्दा एक्काइसाैं शताब्दीमा पूँजीवादले धनी र गरिबका बीचको खाडल झन् बढाइरहेको तथ्य स्वय पूँजीवादी अर्थशास्त्रीहरुले बताइरहेका छन् ।’

सूचना प्रविधिमा भएको विकास, नयाँ नयाँ प्रविधिको प्रयोग, उत्पादनमा भएको विशिष्टीकरण र अन्तरनिर्भताले पूँजीवादको मूल चरित्र उही रहे तापनि केही महत्वपूर्ण हेरफेर भएको उनको तर्क छ ।

अध्यक्ष प्रचण्डले छिमेकी देश चीन र भारतको तीब्र आर्थिक विकास र विश्व शक्तिको केन्द्र पश्चिमबाट पूर्वतर्फ सर्दै गर्दा नयाँ शीतयुद्घको मुख्य भूमि दक्षिण तथा दक्षिण पूर्वी एसिया हुने संभावना औंल्याएका छन् ।

साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग सम्बन्धी लेनिन र माओको विश्लेषण आधारभूत रुपमा सही भएतापनि सो सम्बन्धी रणनीतिमा परिमार्जन र विकास गर्न आवश्यक रहेको प्रचण्डले प्रस्तावमा प्रष्ट्याएका छन् ।