८ बैशाख २०८१, शनिबार

एकताका लागि अझै प्रयास गर्ने सम्भव नभए नयाँ पार्टी बनाउने नेता नेपालको घोषणा

madhav nepal
फाइल फोटो

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एकताका लागि अझै प्रयास गर्ने तर संभव नभए नयाँ पार्टी बनाउने बताउनुभएको छ ।

एकताका लागि आफूहरु अन्तिम पर्खाइमा भन्दै नेता नेपालले सबै ढोका बन्द गरिए पार्टी पुनर्गठन हुने बताउनुभयो । समानान्तर रुपमा बागमती प्रदेश सम्पर्क कमिटी घोषणा गर्न काठमाडौंमा आज आयोजित कार्यक्रममा उहाँले एकताका लागि अध्यक्ष ओलीले गरेका गलत निर्णय फिर्ता लिएर सहमतिका आधारमा चल्ने वातावरण बन्नुपर्ने बताउनुभयो ।

वरिष्ठ नेता नेपालले आफूहरु तत्काल सरकारमा सहभागी नहुने पनि बताउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवालाई यसबारे जानकारी गराउँदै मन्त्रिपरिषद विस्तार गर्न आफुले भनेको उहाँले उल्लेख गर्नुभयो ।

संविधान र लोकतन्त्रको रक्षाका लागि आफूहरुले प्रधानमन्त्री देउवालाई विश्वास मत दिएको भन्दै नेता नेपालले तत्काल चुनाव नभएकाले नयाँ रणनीति बनाउन अहिले कुनै हतार नभएको समेत बताउनुभयो ।