
कुनै बेला एउटा झोलुङ्गेपुल समेत देख्न मुस्किल पर्ने सिन्धुली जिल्लाको कमलाखुँजस्थित कमला खोला यतिबेला पक्कि पुलमय बनेको छ ।
जिल्लाकै सबै भन्दा ठूलो नदीको रुपमा रहेको कमला खोलामा एक दशकको बीचमा यतिखेर छ वटा पक्कि पुन निर्माण भएका छन् । ती मध्ये पाँच वटा पुल निर्माण सम्पन्न भई सञ्चालनमा आई सकेका छन् भने एउटा निर्माणाधीन अवस्थामा रहेको स्थानीयले बताएका छन् ।
स्थानीयका अनुसार कमला खोलामा मदन भण्डारी राजमार्ग अन्तर्गत दुधौली नगरपालिकाको वडा नं. २ रतनपुर र वडा नं. ३ झुंगालाई जोड्ने, वडा नं. ३ मिलनचौक र वडा नं. ४ डकाहालाई जोड्ने, वडा नं. ६ हर्षाही र वडा नं. ५ खनिया जोड्ने, वडा नं. ११ टाँडी र वडा नं ९को हात्तीवन गाँछी जोड्ने, वडा नं. ११ र उदयपुरको बेलसोत जोड्ने पक्कि पुल निर्माण सम्पन्न भई सञ्चालनमा आई सकेको छ । कमलामाई नगरपालिका वडा नं. ९ भिमान र वडा नं. १० जोड्ने पक्किपुल भने निर्माणाधीन अवस्थामा रहेको छ ।
कमलामाई नगरपालिका–१० डाँडाटोल निवासी मिनकुमारी कार्कीलाई कमला नदीमा पक्कि पुल निर्माणसँगै निकै उत्साह बढेको छ । चार बर्षअघि स्थानीय भिमान बजारमा दैनिक उपभोग्य बस्तु किनेर घर जाँदै गर्दा कमला नदीमा एक्कासि आएको बाढीले झण्डै २० मिटरसम्म उहाँलाई बगाएको थियो । त्यो कहाली लाग्दो क्षणलाई अहिले भने सोही ठाँउमा बन्न सुरु गरेको पक्की पुलले मलम लगाउन थालेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘बर्षादको मौसममा भिमानबाट घर जाँदै गर्दा हामी आठ जनालाई बगाएको थियो । बगरको बीचमा पुगेपछि एक्कासि बाढी आयो, सबैलाई बगायो । तुरुन्तै गाँउलेहरु आएर उद्धार गरी सबैलाई बचाए ।’ उक्त बाढीले आफुसँग भएको व्याग बगाउदा एक लाख रुपियाँ नगद समेत हराएको उहाँले सुनाउनुभयो ।
उहाँका अनुसार कमला नदीमा वारपार गर्ने पुल नहुदा भिमान पारीका बासिन्दाले बर्सेनि सास्ती खेप्न बाध्य थिए । अहिले भने पक्कि पुल निर्माण सुरु भएपछि स्थानीय सबैमा खुशी छाएको छ ।
उक्त वडाका अध्यक्ष कैलास ढुंगेलका अनुसार प्रदेश सरकारको करिब १७ करोड रुपियाँ सहयोगमा कमलामाई नगरपालिका–९ र १० लाई जोड्ने गरी कमला नदीमा चार सय मिटर लामो उक्त पुलको निर्माण सुरु भएको एक बर्ष भएको छ । निर्माण सुरु गरेको मितिले ३० महिनामा सक्ने गरी सूर्य एण्ड सन् प्रालीले पुल निर्माणको ठेक्का पाएको छ । पुल निर्माणसँगै स्थानीयमा खुशी छाएको उहाँले बताउनुभयो ।
कमला खोलामा पक्की पुल बन्नु अघि बर्षादको मौसममा दुधौली नगरपालिकाका बासिन्दाको सदरमुकाम सिन्धुलीमाढीसम्म आवत जावत गर्न निकै कष्ट गर्नु पर्दथ्यो । ‘लगभग बर्षादको मौसममा सदरमुकाम सिन्धुलीमाढीसँग दुधौलीका बासिन्दाको सम्बन्ध बिच्छेद जस्तै हुन्थ्यो,’ दुधौली नगरपालिका वडा नं. ७ का अध्यक्ष कुमार बस्नेतले भन्नुभयो, ‘दुधौली नगरपालिकामा मात्रै कमला खोलामा करिब ४० किलोमिटरको दुरीभित्र पाँच वटा पक्कि पुल बनेर सञ्चालनमा आई सकेका छन् ।’
वर्षातको चार महिना अत्यन्तै कष्टका साथ जीवनयापन गर्ने दुधौलीको हतपते, डकाहा, सिर्थौली, दुधौली, टाँडी, लदाभीरका स्थानीले अब बा¥है महिना दुःख झेल्नु नपर्ने भएको उहाँले सुनाउनुभयो ।
कमला नदीमा पुल नभएर सास्ती खेपेका स्थानीय तिव्र गतीमा निर्माण भैरहेको पुलको काम हेरेर दङग रहेको दुधौली नगरपालिकाका प्रबक्ता रितेस राउत बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘हिजोका दुःखका काहाली लाग्दो दिन संझिदा आङ्ग सिरिङ्ग गर्ने र पुल निर्माण भैरहेको हेरेर खुसीको सञ्चार छाएको छ ।’
उहाँका अनुसार वर्षातमा वारपार गर्न नसक्दा ज्यादै कठिन थियो, हिंउदमा समेत चिप्ला ढुंगा हुने भएकाले पार गर्न कम्ता कष्ट थिएन् । अव त पुलबाटै सरर हिड्ने पाईएको छ । पुल नहुँदा समयमा नै उपचार नपाएर कतिपय विरामीको अकाल मै ज्यान जाने गरेको थियो ।