१३ बैशाख २०८१, बिहीबार

दैनिक बढ्न थाले कञ्चनपुरमा कोरोना संक्रमित

Corona Dischargde

कञ्चनपुरमा कोरोना भाइरस संक्रमितको संख्या दैनिक बढ्न थालेको छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय २० पुगेको छ ।

बजार, सार्वजनिकस्थल र सार्वजनिक सवारीसाधनमा बढ्दो भिडाभाडसँगै स्वास्थ्यका मापदण्ड पालना नगर्दा कोरोना संक्रमणका बिरामीको संख्या बढ्न थालेको हो । बिहीबार मात्रै भीमदत्त नगरपालिकामा चार, दोधारा चाँदनीमा एक, कृष्णपुरमा एक, पुर्नर्वासमा दुई र गड्डाचौकीमा एक जना गरी नौ जनामा संक्रमण देखिएको छ । गएको पाँच दिनको अवधिमै ६६ जनामा कोरोना संक्रमण देखिएको छ ।

कोरोना संक्रमण देखिएकामध्ये चारको आइसोलेसनमा र १ सय १६ को होम आइसोलेसनमा उपचार भइरहेको छ । वैशाख महिनादेखि हालसम्म छ हजार ९ सय ९१ जनाको पिसिआर परीक्षण गर्दा तीन हजार ८ सय २३ जनामा कोरोना संक्रमण देखा परेको थियो ।

त्यसैगरी २९ हजार ५ सय १ जनाको एन्टेजेन परीक्षण गर्दा दुई हजार ४ सय ५९ जनामा संक्रमण देखिएको थियो । जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या आठ हजार २ सय ११ पुगेको छ । तीमध्ये सात हजार ८ सय ८५ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना संक्रमणबाटै कञ्चनपुरमा १ सय ८८ जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमण बढ्न थालेपछि स्थानीय तहले सक्रियता देखाउन थालेका छन् । स्थानीय तहले सरोकारवालासँग छलफल गरी कोरोना रोकथाम तथा नियन्त्रणका लागि सुझाव लिने र योजना बनाउने कार्य अगाडि बढाएका छन् ।

शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले कोरोना रोकथामका लागि योजना बनाउनका लागि सरोकारवालासँग छलफल गरी सुझाव माग गरिएको बताए । “सुझावअनुसार नगरपालिका क्षेत्रभित्रका मुख्य बजारमा हुने भिडभाड नियन्त्रण गर्नका लागि प्रहरीसँग समन्वय गरी स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्न लगाउने कार्यमा जुटेका छौँ”, उनले भने, “मास्क नलगाई बजार क्षेत्रमा हिँडडुल गर्ने कार्यलाई निरुत्साहित गर्नका लागि प्रहरीले कडाइ गर्न थालेको छ ।”

बजार क्षेत्रमा मास्क नलगाइ हिँडेको पाइए सम्झाउने बुझाउने र मास्क लगाउनका लागि अह्राउने कार्य भइरहेको छ । मास्कको व्यवस्था गर्न नसक्ने व्यक्तिलाई निःशुल्करुपमा मास्क उपलव्ध गराउने व्यवस्था भइरहेको उनले बताए ।

कोरोनाको तेस्रो लहरलाई मध्यनजर गर्दै नगरपालिकामा रहेको कोभिड अस्पतालमा अक्सिजन, औषधिको व्यवस्थाका लागि स्वास्थ्य शाखालाई निर्देशन दिइसकिएको उनको भनाइ छ । यसैगरी पुर्नर्वास नगरपालिकाले उपलब्ध संरचना तथा सेवा, होल्डिङ सेन्टर, स्वास्थ्य तथा सहायता कक्षको व्यवस्थापन र स्तरोन्नति गर्ने कार्यलाई अगाडि बढाएको छ ।

नगर प्रमुख जीवनराज थापाले कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै सर्तकता अपनाइएको बताए । “कोभिड–१९ विरुद्ध प्रतिकार्यका लागि योजना तथा कार्यविधि निर्माण गर्ने कार्यलाई समेत अगाडि बढाएका छौँ”, उनले भने, “नगरपालिकासँग जोडिएको सीमानाका डोकेबजार गौरिफण्टालाई स्वास्थ्य जाँचको कार्यलाई व्यवस्थित बनाउनका लागि गैरसरकारी संघसंस्था र प्रदेश सरकारसँग समन्वय गरी अगाडि बढेका छौँ ।”