११ बैशाख २०८१, मंगलवार

नागरिकता दिन सिडिओ पुगे अपाङ्गताका घर

saptari nagarikata

सप्तरीका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) जयनारायण आचार्य नागरिकता बोकेर घरमै आएपछि प्रह्लाद मण्डलको परिवार दङ्ग परे । नागरिकताबाट वञ्चित पूर्ण अपाङ्ता भएका प्रह्लाद पनि मुस्कुराए ।

अशक्त, अपाङ्गता र सुस्त मनस्थितिका उनले नागरिकताको महत्व त बुझ्नु भएन होला तर धेरै मानिस उनको वरिपरि झुम्मिएको र परिवारका मानिस खुशीले गद्गद् बनेको देखेर प्रफुल्लित भए ।

जिल्लाका प्रमुख नै नागरिकता लिएर आएपछि दङ्ग परेका गाउँलेसहित पूर्वउपप्रधान पञ्च र वडाध्यक्ष पनि उनको घरमा जम्मा भए । शारीरिक अशक्तताका कारण उठेर बस्नसमेत नसक्ने प्रह्लाद जिल्ला सदरमुकामसम्म पुग्नसक्ने अवस्था थिएन् ।

ती अपाङ्गतालाई नागरिकता दिलाउन प्रजिअ आचार्यसहितको टोली आज घरमै पुगेर आवश्यक प्रक्रिया पूरा गरी नागरिकता हस्तान्तरण गरे । गाउँका हरिरमण शाहको पहलमा सोही वडाका अध्यक्ष गोपी मण्डलले नागरिकताका लागि सिफारिस दिएका थिए । बालकैदेखि अपाङ्गता भत्ता पाउँदै आएका प्रह्लादको उमेर पुगेपछि नागरिकता नहुँदा भत्ताबाट वञ्चित हुँदै आएका थिए ।

नागरिकता पाएपछि अब अपाङ्गता भत्ता पाउने भए भन्दै उनको परिवारले खुशी व्यक्त गरे । शारीरिक अपाङ्गताका कारण सदरमुकाम धाउन नसक्दा १२ किलोमिटर दूरीमा रहेको घरमै आएर नागरिकता दिएकामा मण्डल परिवारले प्रजिअ आचार्यसहितको टोलीलाई धन्यवाद दिए ।

अपाङ्गता भएका प्रह्लाद हिँडडुल गर्न असमर्थ भएकाले आफूले घरमै पुगेर नागरिकता प्रदान गरेको प्रजिअ आचार्यले बताए । अपाङ्गता भएका भतिजालाई घरमै सिडिओ आएर नागरिकता प्रदान गरेकोमा खुसी लागेको उनका ठूलो बुवा शिवेन्द्रले बताए ।

प्रह्लादका बुवा शैलेन्द्र र आमा कोसिला अपाङ्ग छोराको उपचारका लागि कमाउन १४/१५ वर्षअघि भारतको दिल्ली गएपछि फर्केर आएका छैनन् । बुवाआमा दुवै बेपत्ता भएपछि प्रह्लादको स्याहार ठूलोबुवा शिवेन्द्र र ठूलीआमा सुनिताले गर्दै आएका छन् ।

प्रह्लाहका भाई ध्रुव भने सुनसरीको इनरुवास्थित फूपू जयमालाको घरमा बस्दै आएका छन् । जन्मजात अपाङ्ग रहेका प्रह्लादको उपचारका लागि परिवारले धेरै प्रयास गरेको शिवेन्द्रले बताए । चिकित्सकले नसा खुम्चिँदै गएको र निको नहुने भनेर बताएपछि हरेश खाएर घरमै राखेको उनले बताए ।

“केही दिनअघि शिवेन्द्र, वडाध्यक्ष गोपी मण्डल र गाउँकै हरिरमण हाम्रो कार्यालयमा पुग्नुभएको थियो । हिँडडडुल गर्न नसक्ने अपाङ्गता भएका प्रह्लादका बारेमा जानकारी गराए”, प्रमुख जिल्ला अधिकारी आचार्यले भने, “नेपाली नागरिकताको प्रमाणपत्र पाउने उमेर पुगेका नागरिक हिँडडुल गर्नसक्ने अवस्थामा नरहेको र सोही कारणले नागरिकताबाट वञ्चित रहेको थाहा पाएपछि घरमै पुगेर नागरिकता वितरण गरेको हुँ ।”

जन्मेदेखि नै हिँडडुल गर्न नसक्ने प्रह्लादकी हजुरआमा ८५ वर्षीया सुखियादेवी निकै खुशी भइन् । उनले भनिन्, “हाम्रो समस्या बुझेर सिडिओ साप घरमै आएर नागरिकता दिए । सरकार रहेछ भन्ने अनुभूति भयो ।” ज्येष्ठ नागरिकको हैसियतले सामाजिक सुरक्षाभत्ता आफूले पाइरहेकामा अब नातिले पनि अपाङ्गता भत्ता पाउने आशा जागेको उनले बताए । सुखियादेवीले सिडिओ आचार्यलाई आशिर्वाद र धन्यवाद दिँदै अब स्थानीय सरकारले पनि सहयोग गर्ला भन्ने आशा पलाएको बताए ।

“नागरिकता पाउने उमेर पुगेका प्रह्लादले घरमै नागरिकता पाउँदा औधी खुशी लाग्यो”, दिसापिसाव सोहोर्ने, नुहाउने, खुवाउने काम गर्दै आउनुभएकी ठूलीआमा सुनिताले घरमै पुगेका प्रमुख जिल्ला अधिकारीबाट अन्य सहयोगको पनि आशा मिलेको बताए । प्रह्लादमा जन्मेदेखि नै हात खुट्टा नचल्ने समस्या देखिएको हो ।

उमेर बढ्दै जाँदा ठीक होला भनेको त्यो समस्या झन् बल्झिएको सुनिताले बताइन् । उनले भने, “आफ्ना तीन सन्तान हुर्काउनभन्दा अपाङ्गता भएका भतिजालाई हुर्काउन निकै परिश्रम गर्नुपरेको छ ।” सबैको सहयोगको आशा गरेकी सुनिताले घरमै सरकार आएकामा खुशी लागेको बताए ।

उनले प्रजिअ आचार्यलाई ठूलो गुन लगाएका भन्दै धन्यवाद दिँदा प्रजिअ आचार्यले भने, “हामीलाई प्रह्लादको अवस्था र नागरिकताको आवश्यकताबारे जानकारी दिनेलाई धन्यवाद दिनुस्, राज्यले त आफ्नो कर्तव्य मात्र निर्वाह गरेको हो ।”