१३ बैशाख २०८१, बिहीबार

चुनौति र अपार सम्भावनाबीच विद्युत प्राधिकरणमा पुनः कुलमान, पदभार सम्हालेसँगै के भने ?

kulaman ghising e1628676652930

देशलाई दैनिक १८ घन्टाको लोडसेडिङबाट मुक्त गराएका व्यक्ति हुनुहुन्छ कुलमान घिसिङ। ११ महिनाअघि कार्यकाल सकिएर नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट विदा भएका उहाँको फेरि पुनरागमन भएको छ ।

उपलब्ध बिजुलीको सही व्यवस्थापन गरेर उहाँले पहिलो कार्यकालमा असंभव मानिएको लोडसेडिङ्ग हटाउनु भएको थियो । दोश्रो कार्यकालमा पनि उहाँसँग नेपालीले पहिलो कार्यकालको जस्तै कामको आशा राखेका छन् । यस्तोमा ती आशा पूरा गर्न उहाँको सामान्नु धेरै चुनौति छन् ।

एघार महिनाअघि कार्यकाल सकिँदै गर्दा कुलमान घिसिङलाई नै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिन सरकारमाथि दबाव थियो ।
तर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले रुचि देखाउनु भएन र घिसिङ प्राधिकरणबाट बाहिरिनुभयो ।

तर ११ महिनापछि घिसिङ फेरि त्यही जिम्मेवारीमा पुग्नुभएको छ । उहाँले प्राधिकरणमा दोश्रो इनिङ्स यस्तो बेलामा शुरु गर्नुभएको छ । जुन बेला लोडसेडिङ त छैन । तर छिनछिनमा बिजुली गइरहने र लो भोल्टेजको समस्या बढेको छ ।

निर्माणाधीन जलविद्युत आयोजना र प्रसारण लाइन निर्माणको काम जुन गतिमा हुनु पर्ने हो त्यो भइरहेको छैन । अर्थात आयोजनाको काम कछुवा गतिमा छ । कतिपय आयोजनाले बिजुली निकालेका छन् । तर प्रशारण लाइनको अभावमा बिजुली त्यसै खेर गइरहेको छ ।

त्यसैले उहाँले आयोजना निर्माणको कामई तिब्र पार्नु पर्नेछ । आयोजना पूरा भएसँगै देशमा अब मागभन्दा बिजुली धेरै हुने अवस्था छ । यस्तोमा उत्पादित बिजुली खेर जान नदिई बजार खोज्नु घिसिङको अर्को चुनौति हो । अहिले पनि १४ जिल्लामा प्राधिकरणको राष्ट्रिय प्रशारण लाइन पुगेको छैन । ती ठाउँमा बिजुली पुर्‍याउँदा माग केही बढ्ने त छ तर विद्युतीकरणको काम पनि अर्को चुनौती छ । उहाँले घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजानु भएको थियो ।

पहिलो कार्यकालको पछिल्लो दुई वटा आर्थिक वर्षमा प्राधिकरण नाफामा गएको थियो । घिसिङले छाड्नुअघि अर्थात २०७६–७७मा प्राधिकरणले ११ अर्ब ६८ करोड रुपैयाँ नाफा कमाएको थियो । तर गत आर्थिक वर्षमा प्राधिकरणको नाफा ३ अर्ब ३८ करोडमा सीमित भएको छ । अर्थात नाफा ८ अर्ब ३० करोड रुपैयाँले घटेको छ । र अब प्राधिकरणको नाफा पनि बढाउनुपर्ने छ । त्यसका लागि उहाँले विद्युत चोरी न्युनिकरणका लागि काम गर्नु पर्ने छ । यस्तै घिसिङले शुरु गरेको इनर्जी बैकिङ्गको काम पनि जहाँको त्यही छ ।

त्यसैले घिसिङका सामू चुनौतीको पहाड नै छ । उहाँले पनि यी सबै चुनौती बुझ्नु भएको छ ।

विद्युत क्षेत्रको विकास गरी आर्थिक उन्नती गर्न सक्ने व्यक्तिका रुपमा पत्याएर घिसिङ्लाई सरकारले फेरि चार वर्षका लागि जिम्मेवारी दिएको छ । त्यसैले अपेक्षा अनुसार काम गर्ने र नागरिकलाई निरास नबनाउने उहाँको प्रतिबद्धता छ ।

भूमिगत तारको व्यवस्थापन, बक्यौता उठाउने चुनौती समेत घिसिङमा छ । ऊर्जा मन्त्री पम्फा भूसालले मन्त्री बन्ने बित्तिकै सरकारले समेत विद्युतको महसुल घटाउनेदेखि विपन्नलाई निशुल्क बिजुली दिने घोषणा गर्नुभएको छ । त्यसमा समेत कुलमानको परीक्षा हुनेछ । पहिलो कार्यकालमा वाहवाही कमाएका घिसिङले दोश्रो कार्यकालमा त्यो साख जोगाउन सक्नु हुन्छ कि हुन्न त्यो समयले बताउने छ ।