१४ बैशाख २०८१, शुक्रबार

मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को विषयमा राष्ट्रिय सहमति होस् : सभामुख सापकोटा

agni sapkota
फाइल फोटो

सभामुख अग्निप्रसाद सापकोटाले मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को बारेमा आफूले निष्पक्ष ढंंगले सोचिरहेको बताएका छन् ।

बुधबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा भएको भेटघाटमा पत्रकारहरुले राखेको जिज्ञासाको जबाफ दिँदै उनले एमसीसीको विषयमा राष्ट्रिय सहमति होस् भन्ने आफूले चाहेका बताए । “एमसीसीको विषयमा राष्ट्रिय सहमति होस् । जनमानसमा पुगिसकेको विषय छ । यो विषयमा दलहरुबीच छलफल होस् । एउटा टुंगोमा पुगोस्,” उनले भने ।

यदि राष्ट्रिय सहमति हुन नसके पनि संसद्‌मा भएका दलहरुबीच सहमति हुनुपर्ने र त्यो पनि नभए सत्ता गठबन्धनमा रहेका दलहरुबीच सहमति हुनुपर्ने सभामुख सापकोटाले बताए ।

उनले दलहरुबीच सहमति नभइ अघि बढ्दा भोलिका दिनमा कार्यान्वयन हुन गाह्रो पर्ने बताए ।

मंगलबार मात्रै प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले एमसीसी के हुन्छ भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न उठाएका थिए ।

प्रधानमन्त्री छँदा एमसीसीलाई संसद्‌बाट पारित गर्न जोड गरेका ओलीले आफ्नो पार्टीको केन्द्रीय कमिटी बैठकमा भने संशोधनसहित पास हुनुपर्ने आशयको अभिव्यक्ति दिएका छन् ।