१३ बैशाख २०८१, बिहीबार

उपत्यकाका अस्पतालका बेड कोभिडका विरामीले भरिँदै

corona

पछिल्लो दुई हप्ता यता उपत्यकाका अस्पतालहरुमा कोरोना संक्रमितका बिरामीहरु बढेका छन् ।

विभिन्न अस्पतालले जनाए अनुसार पछिल्लो दुई हप्तामा कोरोना संक्रमितका लागि छुट्याईएका साधारण बेडहरु भरिन लागेका छन् भने आईसीयू बेडहरु भरिइसकेका छन् ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पनि पछिल्लो दुई साता यता कोरोना संक्रमितका विरामीहरु बढ्दै गएका छन् ।

टेकु अस्पतालका निर्देशक डा.अनुप बास्तोलाका अनुसार पछिल्लो दुई हप्तायता कोरोना संक्रमितका विरामीहरु अस्पताल भर्ना हुन आउने क्रम बढेको हो ।

उहाँका अनुसार अस्पतालमा कोभिडका बिरामीका लागि छुट्याईएका ४० बेडहरुमध्ये २५ वटा बेडहरु भरिइसकेका भने आईसीयुका लागि छुट्याईएको २४ बेडहरु सबै भरिइसकेका छन् ।

पछिल्लो समय उपत्यका बाहिरबाट आउने कोभिडका विरामीको संख्यामा पनि भईरहेको उहाँले बताउनुभयो ।

यस्तै त्रिवि शिक्षण अस्पतालमा पनि कोरोना संक्रमितको सङ्ख्यामा वृद्धि भएको छ । अस्पतालका कोभिड फोकल पर्सन डा.सन्तकुमार दासका अनुसार पछिल्लो दुई हप्तायता अस्पतालमा भर्ना हुने कोरोनाका संक्रमितको सँख्यामा वृद्धि भएको हो ।

अस्पातालमा कोरोनाका लागि छुट्याईएको ४० बेडको आईसीयूमा सबै भरिइसकेको दासले बताउनुभयो । जसमध्ये १७ जना भेन्टिलेटरमा रहेको उहाँले जानकारी दिनुभयो । अस्पतालले अहिले कोरोनाको विरामीको लागि ११५ वटा साधारण बेडहरु छुट्याईएको छ जसमध्ये अहिले ८५ जना भर्ना भरिइसकेका छन् ।

यस्तै ह्याम्स अस्पतालमा पनि पछिल्ला दिनहरुमा अस्पतालमा भर्ना हुन आउने कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै गएको छ । अस्पतालका मिडिया कोअर्डिनेटर साजन राज भण्डारीका अनुसार पछिल्लो दुई हप्तायता अस्पतालमा आउने कोरोनाका संक्रमितहरुको संख्यामा वृद्धि हुँदै गएको हो ।

ह्याम्स अस्पतालमा कोभिडका लागि छुट्याईएका १३ वटा आईसीयू बेडहरु सबै भरिइसकेका छन् जसमध्ये पाँच जना भेन्टिलेटरमा छन् भने ४९ वटा साधारण बेडहरुमध्ये ४२ वटा बेडहरु भरिइसकेका छन् ।

नर्भिक अस्पतालमा पछिल्लो दुई हप्तामा कोरोनाका बिरामीका लागि छुट्याईएका बेडहरु भरिएका छन् । अस्पतालका मिडिया कोअर्डिनेटर सोमनाथ बास्तोलाका अनुसार अस्पतालमा कोभिडका लागि छुट्याईएका ३६ वटा बेडहरु सबै भरिइसकेका छन् ।

३६ वटा बेडहरुमध्ये १७ वटा साधारण बेड र अरु आईसीयू बेड रहेका छन् । तिमध्ये सबै बेडहरु भरीसकेकाले बाहिरबाट आउने नयाँ सङ्क्रमितहरुलाई बेड अभावका कारण अन्य अस्पतालहरुमा पठाउनुपरेको बास्तोलाको भनाई छ ।

कोभिड युनिफाईड अस्पतालमा पनि कोरोनाका संक्रमितहरुको संख्या बढ्दै गएको छ । अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भुपेन्द्रबहादुर बस्नेतका अनुुसार अहिले अस्पातालमा उपचारका लागि आउने कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै गइरहेको छ ।

उहाँका अनुसार अस्पतालको साधारण र एचडीयू गरेर १६३ बेड क्षमता रहेको छ भने आईसीयू ४० बेडको रहेको छ । जसमध्ये अहिले आईसीयूमा २० जना रहेका छन् भने साधारण बेडमा ८८ जना उपचाररत छन् ।

पछिल्ला केहि दिनमा आउने संक्रमितको संख्या हेर्दा केहि दिनमै अस्पतालमा रहेका सबै बेडहरु भरीन सक्ने उहाँको भनाई छ ।