७ बैशाख २०८१, शुक्रबार

चितवनमा कोरोना संक्रमणबाट आज एकैदिन छ जनाको निधन, २३८ संक्रमित थपिए

chitwan corona death 2
फाइल फोटो

चितवनमा कोरोना संक्रमणबाट आज एकैदिन ६ जनाको निधन भएको छ ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर अस्पतालमा एक, चितवन मेडिकल कलेजमा चार जना र पुरानो मेडिकल कलेजमा एक जनाको निधन भएको हो ।

मृतकहरु मध्ये चितवनका चार जना र नवलपुरका दुई जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । चितवनका अस्पतालमा कोरोनाका बिरामीको चाप बढेसँगै विभिन्न अस्पतालमा २४० जना बिरामीले उपचार गराइरहेका छन् ।

जसमध्ये आईसीयूमा १०७ जना, भेन्टिलेटरमा ४१ जना, एचडीयूमा ४६ जना र जेनरल बेडमा ८७ जना रहेका छन् । विगत २४ घण्टामा चितवनमा ३५ जना कोरोना संक्रमित बिरामी डिस्चार्ज भएका छन् ।

त्यसैगरी चितवनमा आज एकैदिन २३८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर महानगरपालिकामा १७५ जना, खैरहनी नगरपालिकामा ९ जना, माडी नगरपालिकामा १७ जना, रत्ननगरमा १८ जना, राप्तीमा ६ जना, कालिकामा १० जना र इच्छाकामनामा ३ जना थपिएका हुन् ।

योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या दुई हजार ४१८ पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा दुई हजार २३६ जना, अस्पतालको आइसोलेसनमा १७८ जना र सार्वजनिक आइसोलेसनमा चार जना रहेका छन् । आज चितवनका चारसहित चितवनमा अहिलेसम्म कोरोना संक्रमणबाट ३५४ जनाले ज्यान गुमाएका छन् ।