११ बैशाख २०८१, मंगलवार

उहाँलाई सम्झ्ना होस्, आगो निभाउने तरिका हामीसँग छ: ओली

kp oli 1

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डप्रति कटाक्ष गरेका छन् ।

ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्षलाई ‘पानीबाट आगो निभाएको’ याद राख्न भन्दै जवाफ फर्काएका छन्।

केहीदिन पहिलाको संसद बैठकमा माओवादी अध्यक्ष प्रचण्डले आफू आगो भएको र आगोसँग नखेल्न एमालेलाई चुनौती दिएका थिए । जवाफमा आजको संसद बैठकमा अध्यक्ष ओलीले आगो निभाउन एमालेले तरिका थाहा भएको बताए ।

प्रचण्डले माओवादीलाई सकाउन खोजेको भन्दै संसदमा ‘माओवादी आगो हो’ भनेका थिए। त्यसैको जवाफमा आज ओलीले भने, ‘उहाँ आगो हो। यो मलाई थाहा छ। उहाँले डढेलो लगाउनुहुन्छ।’

प्रचण्डलाई जवाफ दिदै अध्यक्ष ओलीले भने, ‘एकजनाले भन्नुभयो म आगो हो मसँग नखेल । यस्ता आगो निभाउन पानी खन्याउनुपर्छ । कसरी पानी खन्याउने हामीलाई थाहा छ ।’

सरकार गठन भएको एक महिनामै एमालेलाई धम्क्याउन खोजेको भन्दै अध्यक्ष ओलीले कसैसँग नडराउनेसमेत चेतावनी दिए । उनले भने, ‘प्रतिपक्षीलाई धम्क्याउने ? म आगो हुँ । मसँग नखेल । धम्की ? प्रतिपक्षलाई गाली गरेर सत्तोसराप गरेर राष्ट्रिय सहमति ?’

सरकारको न्यूनतम साझा कार्यक्रमलाई सडकमा बाँडिएको कागज भन्दै अध्यक्ष ओलीले त्यसको कुनै अर्थ नरहेको समेत बताएका छन् ।

ओलीले थप भने,’उहाँलाई सम्झ्ना होस्। एक दुई बाल्टी पानीले आगो निभाएको सम्झना रहोस्। डढेलो निभाउन हामीलाई आउँछ।’