१३ बैशाख २०८१, बिहीबार

बालबालिका मोबाइल फोनको लतले एक्लिँदै

1 1 1 1
सांकेतिक तस्विर

म्याग्दीको बेनी नगरपालिका– ७ का दिपेन पुन निद्राबाट बिउँझिने बित्तिकै टेबुलमाथिको मोबाइल हातमा लिन्छन् । मोबाइलको स्क्रिन हेरेर उनको दैनिकी सुरु हुन्छ । कक्षा ६ मा पढ्ने १२ वर्षीय पुनले मोबाइलमा के हेर्छन् त्यो त परिवारलाई पत्तो हुँदैन । उनले मोबाइल नपाउञ्जेलसम्म रिसाउने, झर्किने र खानै नखाइदिने गर्छन् । जसले गर्दा उनको परिवार पनि तनावमा रहनुपर्छ ।

अनलाइन क्लासको बहानामा बालबालिका एक्लिँदै गएका र उनीहरूको आनीबानीमा नकारात्मक परिवर्तन देखा पर्न थालेपछि अभिभावक चिन्तित बनेका छन् ।

“अहिले अनलाइन क्लासका नाममा मोबाइल, ल्यापटप र कम्प्युटरमा बालबालिका व्यस्त हुने गरेका छन्, न बोलाएको सुन्छन्, न समयमा खाना खान्छन्, अनलाइन क्लासमा पनि ज्वाइन नभएको भनेर विद्यालयबाट अभिभावकलाई फोन आइरहन्छ”, बेनी मङ्गलाघाटका अभिभावक तिलबहादुर पुनले भन्नुभयो । “बिहान उठ्नसाथ मोबाइल नहेरी अरू कुनै काम गर्न मान्दैनन्”, बेनी नगरपालिका– ४ सिगाका अभिभावक मोहन पौडेलले भन्नुभयो,“न बाबाआमा, न साथी सङ्गती, मोबाइल पाएपछि अरू कोही पनि चाहिँदैन, यस्तो पाराले त कसरी बनाउँछन् खै आजभोलिका बालबालिकाले राम्रो भविष्य ?”, पौडेलले चिन्ता व्यक्त गर्नुभयो ।

पौडेलको जस्तै चिन्ताले अहिले अधिकांश अभिभावक पिरोलिएका छन् । अनलाइन कक्षाको नाममा बिहान उठेदेखि राति ११÷१२ बजेसम्म बालबालिका मोबाइल र ल्यापटपमा घोप्टिने गर्न थालेपछि अभिभावकले आ–आफ्ना बालबालिकाप्रति निगरानी त बढाउन थालेका छन् तर परिणाम भने झन् विपरीत प्राप्त भइरहेको अभिभावकको गुनासो रहने गरेको छ ।

“बिहानदेखि रातिसम्म नै मोबाइलमा व्यस्त हुन थालेपछि मैले तीन दिनसम्म बच्चाको निगरानी गरेँ, अनलाइन क्लासमा ज्वाइन नै नभई, पब्जी र अरू नानाभाँतिका खेल पो हेर्दो रहेछ”, बेनीका अभिभावक सुमन सापकोटाले भन्नुभयो, “त्यसपछि सम्भाइबुझाइ गर्दा उल्टै खानै खान मानेन, रिसाउने,झर्किने पो गर्न थाल्यो ।”

म्याग्दीका प्रायः सबै अभिभावक मोबाइल फोन र इन्टरनेटले आफ्ना छोराछोरी कस्तो बाटोमा लाग्ने हुन् भन्ने कुराले चिन्तित छन् । कोरोना सङ्क्रमणका कारण भौतिकरुपमा उपस्थित भई विद्यालयमा पठनपाठन गर्ने वातावरण नभएपछि विद्यालयले अनलाइन क्लास सञ्चालन गर्ने गरेका छन् । तर, अधिकांश बालबालिकालाई अनलाइन क्लास मोबाइल खेलाउन पाइने गतिलो बहाना बनेको छ ।

सुरु सुरुमा बालबालिकालाई भुलाउन मोबाइल दिने गरेका अभिभावक पनि मोबाइलबिना अहिले बस्नै नसक्ने भएपछि तनाबमा छन् । पछिल्लो समय अभिभावकको मनमा एउटै मात्रै प्रश्न उठ्न थालेको छ–बच्चालाई मोबाइलको लतबाट कसरी छुटकारा दिलाउने?

ज्यामरुककोटकी लक्ष्मी सुवेदीले छोरी सानो छँदा घरधन्दा भ्याउनुपर्ने अवस्था भएकाले मोबाइल खेलाउन दिएर भुलाउने गर्नुहुन्थ्यो । बिस्तारै बिस्तारै छोरीलाई मोबाइल खेलाउने बानी भयो । अहिले मोबाइल भएपछि आमाबुबा, साथीभाइ नै भुल्ने र कोठाबाट बाहिर निस्कन नमान्ने जस्ता क्रियाकलाप गर्न थालेपछि आफू आजित बनेको लक्ष्मीले सुनाउनुभयो ।

बालबालिकामा विकसित हुँदै गएको एकलकाँटे प्रवृत्तिको असर दीर्घकालसम्म पर्ने भएकोले यसतर्फ अभिभावक सचेत रहनुपर्ने समाजशास्त्री तथा बाल मनोविज्ञानका जानकारको राय रहेको छ । पछिल्लो समय अभिभावकको व्यस्त जीवनशैली र प्रविधि प्रयोगका कारण बालबालिका समाजमा घुलमिल हुन नचाहने, एकान्तमा बस्न रुचाउने जस्ता आनीबानी बढ्न थालेको बालरोग चिकित्सक डा मीना शाक्यले बताउनुभयो । मोबाइल फोन भेटेपछि घण्टौँसम्म एक्लै बस्ने, कोसँग कस्तो व्यवहार गर्ने, कसरी बोल्ने जस्ता संस्कार बालबालिकामा हराउँदै गएको अभिभावकको गुनासो छ । रासस