११ बैशाख २०८१, मंगलवार

पछिल्लो समयमा निर्माण भएका अव्यवस्थित सडकले जङ्गल विनाश हुने क्रम बढ्दो

road

सिन्धुली जिल्लामा पछिल्लो समयमा निर्माण भएका अव्यवस्थित सडकले जङ्गल विनाश हुने क्रम बढेको छ ।

जथाभावी डोजर चलाउँदा वर्षामा पहिरो जाने, जङ्गल विनाश र भूक्षय बढेको स्थानीय बासिन्दाले जनाएका छन् । सुनकोसी गाउँपालिका–७ निवासी कमल आले पछिल्लो समय पहाडी क्षेत्रमा जताततै सडक विस्तारले विनाश बढेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “योजना छान्ने बेलामा सबैको पहिलो रोजाइमा सडक नै पर्छ तर त्यस्ता सडक इन्जि(िनयरिङ मापदण्ड पूरा नगरी निर्माण गरिँदा विकासको साटो उल्टे विनाश भइरहेको छ । ” पहाडमा सडक विस्तार गर्ने भन्दै डाँडापाखा फोर्न थालेपछि समस्या निम्तिएको उहाँको भनाइ छ ।

स्थानीयका अनुसार पछिल्लो समय अधिकांश ग्रामीण सडक निर्माण गर्दा वन कार्यालयसँग स्वीकृति नलिएको पाइन्छ । जिल्लाका नौवटा स्थानीय तहले वन मासेर सडक निर्माण गरिरहेका छन् ।

डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख थिरबहादुर कार्की पनि प्रदेश सरकारल समेत सडक निर्माण गर्दा वन फडानी गर्न स्वीकृति नलिएको गुनासो गर्नुहुन्छ । उहाँले भन्नुभयो, “स्थानीय तहको त कुरै छाडौँ, प्रदेश सरकारलेसमेत सडक निर्माण गर्दा रुख कटान गर्न स्वीकृति लिएको छैन ।

जङ्गल मासिने गरी प्रदेश सरकारको आर्थिक सहयोगमा रामेछापबाट सिन्धुली जोड्ने गरी निर्माण सुरु भएको सडक वन कार्यालयले रोकेको उहाँले बताउनुभयो । “अहिले बल्ल त्यो सडकको वातावरणीय प्रभाव मूल्याङ्कन सुरु भएको छ”, उहाँले भन्नुभयो, “स्थानीय तहले निर्माण गर्ने दुई किलोमिटर, चार किलोमिटर सडकको त कसैले वन कार्यालयसँग स्वीकृति लिएका छैनन् । ”

स्थानीय तह र प्रदेश सरकारले सडक निर्माण गर्दा कति वन क्षेत्र विनाश भयो ? त्यस्को तथ्याङ्क नभएको उहाँको भनाइ छ । कार्यालय प्रमुख कार्कीले भन्नुभयो, “स्थानीय तहले हामी स्वतन्त्र छौँ भनेर सडक खनिरहेको छ । हामी वन कानुनअनुसार चल्नुपर्छ भन्छौँ । कानुन बाझिएकाले पनि समस्या बल्झिएको छ । ”

हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष कार्साङ लामा बागमती–बख्फर र क्यानेश्वर–हरिवन सडक वातावरणीय प्रभाव मूल्याङ्कन गरी निर्माण गरेको भए पनि अन्य सडकको उक्त मूल्याङ्कन नभएको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “टोल–टोलमा ट्र्याक सडक पु¥याएका छौँ । अब स्तरोन्नति र मर्मत गर्न बाँकी छ । पछि निर्माण भएका कुनै सडकको पनि वातावरणीय प्रभाव मूल्याङ्कन गरिएको छैन । ”