२७ बैशाख २०८१, बिहीबार

स्थानीय तहलाई प्रदेश मातहत राख्ने कुनै सिफारिस नभएको महामन्त्री खड्काको प्रष्टिकरण

purna bhadur khakda
फाइल फोटो

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले स्थानीय तहलाई प्रदेश सरकार मातहत राख्ने गरी कुनै पनि सिफारिस नभएको स्पष्टिकरण दिनु भएको छ ।

पाँच दलीय गठबन्धनको सरकारलाई सघाउन गठित कार्यदलका संयोजकसमेत रहेका खड्काले त्यस किसिमको कुनै सिफारिस नभएको बताउनु भएको हो ।

गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले संघीय सत्तारुढ गठबन्धनबाट सार्वजनिक साझा न्यूनतम् कार्यक्रममा स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउन आवश्यक कार्य गर्ने प्रावधान राखेकोमा आपत्ति जनाए लगत्तै खड्काको यस्तो धारणा आएको हो।

खड्काले वर्तमान संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा स्थानीय तहलाई प्रदेशको मातहत ल्याउन कार्यदलले सिफारिस गरेको भनी झुटो प्रचार भएको भन्दै कार्यदलले संविधान विपरीतको सिफारिस नगरेको स्पष्ट पार्नु भएको छ ।

हिजो मात्रै स्थानीय तहसँग सम्बन्धित तीन संगठनले राजधानीमा पत्रकार सम्मेलन गरी सत्तारुढ गठबन्धनको प्रस्तावमा गम्भीर आपत्ति जनाएका थिए।

तीनवटै संस्थाका अध्यक्षले स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र राख्ने कार्यक्रम ल्याएको भन्दै त्यसको डटेर विरोधमा उत्रिने, उक्त प्रस्तावलाई अस्वीकार गर्ने जनाएका थिए।