४ बैशाख २०८१, मंगलवार

नारायणगढमा अबैध मोवाइल कारोबारीको गिरोह, भन्सार छलेको लाखौंको मोवाइलसहित व्यापारी पक्राउ

mobile

चितवनको नारायणगढ बजारमा अबैंध मोवाइल कारोवारीको गिरोह सक्रिय भएको छ । भन्सार छलेर अबैध काम गर्ने गिरोह रहेको भन्ने गुनासो आउने गरेको भएपनि पक्राउ पर्न सकेका थिएनन् । हिजो (विहबार) भने नवलपुर प्रहरीले नारायणगढको एक पसल संचालक सहित भन्सार छलेर ल्याइएको लाखौं मूल्य बराबरको अबैध मोबाइल बरामद गर्न सफल भएको छ ।

प्रहरीले जिल्लाको विनयीत्रिवेणी गाउँपालिका वडा नं. १ स्थित राजमार्गबाट विभिन्न ब्राण्डका ५९५ थान मोबाइल सेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)का डिएसपी दिलिप कुमार गिरीले जानकारी दिनुभयो । बरामद भएका मोबाइलको बजार मुल्य करिव ७८ लाख रुपैँया पर्ने उहाँले बताउनुभयो ।

ईलाका प्रहरी कार्यालय दुम्कीबासको टोलिले गएराति ११ वजे पश्चिमबाट पूर्वतर्फ जान आउदै गरेको प्रदेश ३– ०१– ०२३– च –५५४४ नम्बरको गाडीलाई चेकजाँच गर्ने क्रममा अवैध रुपमा मोबाइलको ओसारपसार हुने गरेको फेला परेको हो ।

भन्सार छलेर मोबाइल ल्याउने चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. ८ का अर्जुन शर्मा भनिने अर्जुन ढकाल र भरतपुर २१ का ईन्द्रलाल श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ढकाल नारायणगढको ‘ए एण्ड के’ मोवाइलका संचालक रहेको प्रहरीले जनाएको छ । शर्माले यसअघि पनि मोवाइलको अबैध काम गर्ने गरेको पाइएको प्रहरीको भनाई छ ।

बरामद गरिएका अवैध मोबाइल आजै भन्सार कार्यालय पठाउने प्रहरीको तयारी छ । रेडमी, रियल मि, पोको, नोकिया लगायतका कम्पनीका मोवाइलको अवैध कारोवार उनिहरुले गर्ने गरेको भेटिएको छ । उनिहरु दुवैजनालाई दुम्कीबास प्रहरीको हिरासतमा राखिएको छ । नवलपरासीको नाकाबाट अवैध रुपमा भन्सार छलेर सामानहरु भित्रन थालेपछि नवलपुर प्रहरीले चेकजाँचलाई कडा पारेको छ ।